रक्षा बन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन ।


Rakshya_bandhan

धर्म दर्शन, श्रावण १९, सोमबार
आज श्रावण १९, अर्थात् रक्षा बन्धन । चाडपर्वले एउटा समुन्नत समाज निर्माण गर्नका लागि, सदियौं देखि मद्दत गर्दै आएको छ । सहिष्णुता, मेलमिलाप, भाइचारा बढाइ व्यक्तिको जीवनमा ऊर्जा थप्ने काम चाडपर्वले गर्दै आएका छन् । यसै अन्तर्गत, आज हामीले रक्षा बन्धनको बारेमा लेख तयार पारेका छौँ । 

हिन्दू परम्परा अनुसार थुप्रै यस्ता चाडपर्व रहेका छन्, जसमध्ये रक्षा बन्धनको छुट्टै महत्व रहेको छ । यस दिनलाई राखी पूर्णिमा, भिस त्राक, पुण्य प्रदायक अथवा पाप नाशकको दिन भनेर पनि चिन्ने गरिन्छ । हिन्दू परम्परा अनुसार, पूर्णिमाको दिन लाई एकदमै पवित्र मानिन्छ । प्राय गरी यो पर्व श्रावणको महिनामा पर्ने गर्दछ । नेपाल, भारत लगायत पाकिस्तानका केही भाग हरुमा समेत यो पर्व उत्साहका साथ मनाइने गरिन्छ ।

रक्षा बन्धनको पौराणिक मान्यता एकदमै रोचक छ । प्रत्येक श्रावण पूर्णिमाका दिन, यमुनाले यमराज (मृत्युका देवता ) लाई उनको नाडीमा पवित्र धागो बाँध्ने गर्दथिन्। यमराज प्रसन्न भएर घोषणा गरिदिए " जसले आफ्ना दिदी बहिनीका हात बाट राखी बाध्ने गर्छन्, उनीहरू दीर्घायु हुनेछन् ।" त्यस दिन देखि राखी बाध्ने प्रचलन रहि आएको मानिन्छ । शक्ति रूपी धागो (राखी) बाँधे पश्चात आफ्ना दाजु भाइ हरुलाई दिदी बहिनीहरूले मिष्ठान्न भोजन गराउने र दाजु भाइहरूले आफ्ना दिदी बहिनीहरूलाई गक्ष अनुसार उपहार दिने प्रचलन रहि आएको छ । 
यसका साथै आजकै दिन, ब्राह्मण हरुबाट डोरो बाँध्ने चलन पनि छ । हिन्दू विश्वास का अनुसार, मन्त्र उच्चारण गरी बाँधिएको डोरोले रक्षा कवचको रूप लिने र हानि नोक्सानीबाट बचावट गर्दछ । यसैगरी, आजका दिन ब्राह्मण, गरीब, असहाय हरुलाई दान गर्ने, दक्षिणा दिने कार्य गर्दा पुण्य कमाउने विश्वास पनि रहि आएको छ । आजका दिन बाँधिएको डोरो, गाई तिहारका दिन गाइको पुच्छरमा बाँध्ने चलन छ ।

डोरो बाँध्दा पढिने मन्त्र :
"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

अर्थात्:
"जुन रक्षा धागो (काँचो धागो) ले दानवहरुका महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।"

आजकै दिन आफ्ना पिता, गुरु या ब्राह्मण हरुद्वारा मन्त्रिइएको (यग्यो पवित) जनै फेर्ने पनि प्रचलन छ । त्यसकारण यस दिन लाई जनै पूर्णिमाका नामले पनि चिनिन्छ । व्रतवन्ध गरिसकेपछि पवित्र धागो, यग्योपावित (जनै) पहिरिने, र गायत्री मन्त्र जाप गर्नुपर्छ भन्ने मान्यता हिन्दूहरुमा छ । व्रतवन्ध गरिसकेपछि विभिन्न कर्म काण्ड , पूजा पाठ गर्न योग्य ठहरिने विश्वास हिन्दू परम्परामा रहेको छ । जनैमा रहेका दुई वटा शिखा का छ वटा धागा हुन्छन जसमध्ये, एउटा शिखामा रहेका ३ वटा धागालाई  त्रिदेव ( ब्रह्म , विष्णु र महेश्वर ) को प्रतीक मानिन्छ भने अन्य तीन वटा धागो लाई कर्म, उपासाना र ज्ञानको योग मानिन्छ ।

आजका दिन लाई क्वाँटी खाने दिन पनि भनिन्छ ।' क्वाँ' भन्नाले तातो परिकार र 'टी' भन्नाले झोल बुझाउँछ  । आजका दिन, दुई दिन अघि भिजाएर राखिएका ९ वटा गेडागुडी पकाएर खाने गरिन्छ । ९ किसिमका गेडागुडी हरुमा मुङ, मास, भटमास, चना, गहत (मस्याङ) , केराउ, बकुल्लो, बोडी र सिमी पर्दछन् । टुसा उम्रेपछि खाइने यस परिकार लाई क्वाँटी भन्ने गरिन्छ ।आफ्नो पाचनशक्ति बलियो बनाउने तथा रोगहरुसँग लड्न सक्ने क्षमता विकास हुन्छ भन्ने विश्वास का साथ क्वाँटी खाने गरिन्छ ।

सबै पाठकहरु, र राष्ट्रिय टाइम्स् लाई माया गरिदिनुहुने सम्पूर्णलाई यस पवित्र दिनको शुभकामना दिन चाहन्छौं ।

जय शम्भो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार