विश्वविद्यालयका परीक्षा दसैंअघिनै जसरि भएपनि गराइने |


भदौ, ९ मंगलबार, काठमाडौँ 
विश्वविद्यालयहरूका परीक्षाहरु दशै अगाडि नै हुने भएका छन् । कोरोना संक्रमण घट्दै  गएमा अनलाइन  लगायत अन्य विधिहरु अपनाएर परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यालयहरूले बताएका छन् । विभिन्न तहका र विभिन्न विश्वविद्यालयका परीक्षाहरु निर्धारित समयमा हुन पाएका छैनन् । 

विश्वविद्यालयका उप-कुलपतिहरुका अनुसार असोज महिनाभित्रै वैकल्पिक तरिकाहरु प्रयोग गरेर भएपनि परीक्षा सञ्चालन गर्ने गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उप-कुलपतिहरुले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट संचालन नगरे शैक्षिकसत्रनै खेर जाने कुरा बताए । वैकल्पिक विधिलाई मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको तर्क थियो । 

उप-कुलपति धर्मकान्त बास्कोटाका अनुसार त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् उनीहरुका लागि चार विभिन्न मोडलहरु बाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढेको छ । अवस्था र अनुकूलता अनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक वा परम्परागत तरिकाबाट परीक्षा सञ्चालन गरिने जनाइएको छ । 

त्रिभुवन विश्वविद्यालयले गत चैत्र देखि नै अनलाइन  कक्षाहरु सञ्चालन गरेको थियो । अहिलेसम्म १  लाख ४५  हजार विद्यार्थी, १६ हजार शिक्षक र कर्मचारीहरुलाई ईमेल आइडी वितरण गरिसकिएको जनाइएको छ । साथै, ४,५०० शिक्षकहरुलाई भर्चुअल कक्षाको क्षमता विकास तालिम दिइएको जनाइएको छ । 

नेपालमा काठमाडौँ विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयले अनलाइनबाटै पठनपाठन र परीक्षाहरू सञ्चालन गर्दै आइरहेको अवस्थामा अन्य विश्वविद्यालयले पनि यस किसिमको विधिबाट परीक्षा लिन सक्ने बताइएको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाका अनुसार इन्टरनेट र अनलाइनको समस्या भएपनि शैक्षिकसत्र जोगाउनका  लागि वैकल्पिक तरिकाबाट परीक्षा लिनुको अरु विकल्प छैन ।


यस्तै शिक्षामन्त्री गिरिराजमणी पोखरेलले विश्वविद्यालयहरूलाई एक हप्ताभित्र शैक्षिक पात्रो सार्वजनिक गर्न र शैक्षिक सत्र खेर जान नदिनका लागि उपायहरू खोज्न निर्देशन दिइसकेका छन् । 

नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माका अनुसार, पाठ्यक्रम र मूल्यांकन विधि परिवर्तन गर्न सक्दा मात्रै अहिलेको अवस्थामा शैक्षिक शत्र खेर जान दिनबाट रोक्न सकिन्छ र इन्टरनेट तथा अनलाईन मात्र वैकल्पिक विधि नभएर टि भी, रेडियो,  र प्रिन्ट सामग्री पनि वैकल्पिक विधिकारूपमा प्रयोग गर्न सकिन्छ ।

कुन कुन विश्वविद्यालयमा कति विद्यार्थी छन् ?

विश्वविद्यालयमा  विद्यार्थी संख्या :

१. त्रिभुवन विश्वविद्यालय: ४,१५,४८२
२. पूर्वाञ्चल विश्वविद्यालय: ४६,१९०
३. पोखरा विश्वविद्यालय: ३०,७४९
४. काठमाडौं विश्वविद्यालय: १६,४३६
५. सुदूरपश्चिम विश्वविद्यालय: १०,११
६. मध्यपश्चिम विश्वविद्यालय: ५,७२१
७. कृषि तथा वनविज्ञान विश्वविद्यालय:  ३,८७१
८. नेपाल संस्कत विश्वविद्यालय: २,७२१
९. लुम्बिनी बौद्ध विश्वविद्यालय: ७१३
१०. नेपाल खुला विश्वविद्यालय: ६८०
११. राजर्षि जनक विश्वविद्यालय: १९१
१२. स्वास्थ्य विज्ञान प्रतिष्ठान : ३,२४७

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार