सिपिएल टि-२० : किफायती बलिङ्ग गर्दै सन्दिपले लिए १ विकेट




प्रकाशित: भदौ ४, बिहिबार, काठमाडौं

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले डेरेन सामी कप्तानीको सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

ट्रिनिडाड एण्ड टोबागो स्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा सेन्ट लुसिया जुक्सले दिएको १५९ रनको लक्ष्य जमैकाले ५ विकेट गुमाएर १८.५ ओभरमा पुरा गरेको हो।


नेपाली स्पिनर सन्दिप लामिछानेले किफायती बलिंग गर्दै ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। यस क्रममा उनले नजीबुल्लाह जद्रानको विकेट लिए।


कस्तो रह्यो सन्दीपको ४ ओभर ?

सन्दिपको पहिलो ओभर :- ८ रन (१, ० , ० , १ , ६ , ० ) खेलको नवौं ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपलाई ओभरको पाँचौ बलमा नजिबुल्लाह जद्रानले स्लग स्विप गर्दै डिप-मिड विकेटमा छक्का प्रहार गरे। त्यस बाहेक सन्दिपले ओभरमा तिन वटा डट बल गरे भने २ पटक १/१ रन दिए।


सन्दिपको दोश्रो ओभर :- ३ रन ( २, ० , ० , ०, १, ० ) लगत्तै स्पेलमा ११ औं ओभर गर्ने क्रममा सन्दिपले किफायती बलिंग गरे। ओभरमा मात्र ३ रन खर्चने क्रममा उनले नजिबुल्लाह जद्रानलाई खुलेर रन बनाउन दिएनन्। ओभरमा उनले अधिकांश बल गुगली फालेका थिए।


सन्दिपको तेश्रो ओभर :- ८ रन ( १ , ४ , ० , ० , २ , १ ) लगत्तै स्पेलमा १३ औं ओभर बलिंग गर्ने क्रममा सन्दिपले दोश्रो बलमा दिएको अफस्टम्प भन्दा बाहिरको फुल टस बललाई रोस्टन चेजले चौका प्रहार गरे। तेश्रो बलमा सन्दिपले रोस्टन चेजलाई गुग्ली गर्दै गरेको एलबिडब्लु विकेट अपिल अम्पायरले आउट नदिंदा सन्दिप पहिलो विकेट लिन चुक्न पुगे। ओभरमा २ डट बल गरेका उनले ८ रन खर्चिए।


सन्दिपको चौथो ओभर :- ४ रन दिएर १ विकेट ( १, विकेट , १ , ० , ० , वाइड, १ ) खेलमा र सिजनमै पहिलो विकेट लिने क्रममा सन्दिपले दोश्रो बलमा नजीबुल्लाह जद्रानलाई क्याच आउट गराए। सन्दिपले गरेको गुगलीलाई ठुलो सट खेल्ने क्रममा उनि डिप-मिड विकेटमा कप्तान रभम्यान पावेलबाट समातिन पुगेका थिए। २५ रन बनाएका जद्रानको विकेट लिंदै सन्दिपले रोस्टन चेजसंगको ५२ रनको साझेदारी तोडे। ओभरमा उनले मात्र ४ रन खर्चेर स्पेल सकाए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार