कक्षा ११ काे पाठ्यक्रममा जिवनउपयाेगी शिक्षा विषय पनि थप |


jiwan upayogi sikshya
प्रकाशित: भदौ ९, मंगलबार, 
काठमाडौँ  ।
 यो वर्षदेखि कक्षा ११ का विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्ययन गर्नुपर्ने भएको छ । बालबालिकालाई समाजसँग परिचित गराउन र जीवन व्यवहार चलाउने कला सिकाउन नयाँ पाठ्यक्रममा उक्त विषय राखिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार शिक्षालाई आधारभूत र माध्यमिक गरी दुई तहमा बाँडिएको छ । माध्यमिक शिक्षाले विद्यार्थीहरूमा ज्ञानकोखोजी गरी सिकाइ र वास्तविक जीवनबिच सम्बन्ध स्थापित गर्ने, सिद्धान्त र व्यवहारको समन्वय गर्ने तथा स्वपरावर्तित हुँदै ज्ञान, सिप र क्षमतालाई अद्यावधिक गर्ने सक्षमता विकास गराउनु पर्छ । यस तहको शिक्षाले अधिकार, स्वतन्त्रता र समानताको प्रवर्धन गर्ने, आफ्नो कर्तव्यप्रति सचेत हुने, स्वस्थ जीवन शैलीको अभ्यास गर्ने, तार्किक विश्लेषण गरी निर्णय गर्ने, वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा सरिक हुने नागरिक तयार गर्न सहयोग गर्नुपर्छ ।

 विद्यार्थीहरूमा नैतिक आचरण प्रदर्शन गर्ने, सामाजिक सद्भावप्रति संवेदनशील हुने, पर्यावरणीय सन्तुलनप्रति संवेदनशील हुने, द्वन्द्व व्यवस्थापन गर्दै दिगो शान्तिका लागि प्रतिबद्ध रहने, आधुनिक ज्ञान, सिप, सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने, स्वावलम्बी र व्यवसायमुखी सिपको अभ्यास गर्ने सक्षमताको विकास यस तहको शिक्षाका अपेक्षा हुन् । त्यसै गरी राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्ने, समाज स्वीकार्य आचरण र कार्य संस्कृतिको अवलम्बन गर्ने, सहिष्णुभाव राख्ने, सिर्जनशील, कल्पनाशील, उद्यमशील एवम् उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल व्यवस्थापन गर्नेलगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील एवम् समावेशी समाज निर्माणमा योगदान गर्न सक्ने सक्षम नागरिक तयार गर्नु यस तहको शिक्षाको कार्यदिशा हो ।
Jiwanupayogi Sikshya

यसका लागि कक्षा ११ र १२ को पाठ्यक्रम संरचनालाई पुनः संरचित गर्न राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट अन्तिम रूप दिई र नेपाल सरकारबाट स्वीकृत भएको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६लाई आधार मानी माध्यमिक तह (कक्षा ११ र १२) का विभिन्न विषयका पाठ्यक्रम विकास गरिएको हो । जस अनुसार कक्षा ११ मा १०० पुर्णाङ्क , ५ वार्षिक पाठ्यघण्टा ( credit hour ) र १६० बार्षिक कार्यघण्टा हुने गरि समाजिक अध्ययन विषय र कक्षा १२ मा मा १०० पुर्णाङ्क , ५ वार्षिक पाठ्यघण्टा ( credit hour ) र १६० बार्षिक कार्यघण्टा हुने गरि जीवनाेपयाेगी शिक्षा विषयकाे पाठ्यक्रम विकास गरिएकाेमा कक्षा ११ र कक्षा १२ काे मुल्यांकन फरक फरक संस्थावाट हुने र ११ मा पढेकाे सामाजिक अध्ययन विषयकाे मुल्यांकन कक्षा १२ काे प्रमाणपत्रमा नदेखिने भएकाे ले पाठ्यक्रम लाई तत्कालै संसाेधन गर्न लागिएकाे हाे। परिमार्जित पाठ्यक्रममा सामाजिक अध्ययन विषय र जीवनाेपयाेगी शिक्षालाइ दुवै कक्षामा पठनपाठन हुनेगरि ब्यवस्था मिलाउन लागिएकाे छ ।

कक्षा ११ र १२ मा जीवनोपयोगी शिक्षा नयाँ विषय हो भने सामाजिकको अध्ययनको पठनपाठन भने अहिले पनि कक्षा १० सम्म भइरहेकाे छ । महानिर्देशक दाहालले कक्षा ११ र १२ मा अनिवार्य रूपमा उक्त विषयको पठनपाठन हुने जानकारी दिएकाछन। ‘बालबालिकालाई जे कुरा पढाउँछौं, त्यसलाई जीवन व्यवहारलाई जोड्ने काम यो विषयले गर्छ,’ उनले भने । केन्द्रले ८ कक्षासम्म बालबालिकालाई भने मानव मूल्य मान्यतामा समेटेर जीवनोपयोगी कुरा सिकाउने लक्ष्य लिएको छ उनले भनेकाछन । ‘कक्षा ९–१० मा जीवनोपयोगी शिक्षा अध्ययनका लागि पूर्वाधार तयार पार्छौं,’ महानिर्देशक दाहालले भनेका छन ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्रै धेरै दिएकाले जीवनोपयोगीलाई अनिवार्य विषयका रूपमा लागू गर्नुपरेको उनले जनाए । ‘धूमपान गर्नु हुँदैन भन्ने पढायौं, तर विद्यार्थी सुर्ती, चुरोट खाने निस्किए,’ उनले थपे, ‘अब धूमपानका असरबारे विद्यार्थीलाई प्रोजेक्ट कार्य दिएर अध्ययन गराउँछौं, धूमपान नगर्ने विद्यार्थी धेरै बनाउनु हाम्रो लक्ष्य हुनेछ ।’ उच्चस्तरीय शिक्षा आयोग २०७५ को प्रतिवेदनले पनि बालबालिकालाई जीवनोपयोगी शिक्षा आवश्यक रहेको सरकारलाई सिफारिस गरेको थियो ।

विद्यालय शिक्षा कक्षा १–१२ को पाठ्यक्रम स्वीकृत भइसकेको छ । यो शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुन लागेको हो भने कक्षा २ ,३ र ६ मा याे वर्ष परिक्षण भैरहेकाेछ । अर्काे वर्ष कक्षा कक्षा २,३,६ र १२ मा नयाँ पाठ्यक्रम कार्यन्वयन हुदैछ । पाठ्यक्रममा कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी विषय अनिवार्य र अन्य ३ विषय ऐच्छिक गरी ६ विषय पठनपाठन हुने ब्यवस्था रहेकाे छ ।

शिक्षाविद्हरूले जीवनोपयोगी शिक्षा छुट्टै पाठ्यक्रम बनाएर पठनपाठन गराउन असम्भव हुने र प्रत्येक विषयसँग जोडेर लैजानुपर्ने सुझाव दिएका छन् । विज्ञहरूको सुझावअनुसार नै सामाजिक अध्ययनसँग जीवनोपयोगी शिक्षालाई एकीकृत रूपमा पढाउन लागिएको केन्द्रले जनाएको छ । कक्षा ९–१० मा उक्त विषय नभए पनि अन्य विषयसँग जोडेर जीवनोपयोगी सीप सिकाउने केन्द्रको दाबी छ । विज्ञहरूले पनि छुट्टै विषयभन्दा प्रत्येक विषयसँग जीवनोपयोगी सीप सिकाउन आवश्यक रहेको बताएका छन् । ‘गणित पढ्ने विद्यार्थीले त्यहाँबाट दैनिक व्यवहारमा आवश्यक पर्ने सीप सिक्न सक्छ, अहिलेसम्म हामीले त्यसरी सिकाउन सकेका छैनौं,’ शिक्षाविद् विनय कुसियतले भनेका छन ।

केन्द्रले उक्त विषयको पाठ्यक्रम स्वीकृत गरेर पाठ्यपुस्तक छपाइ थालेको छ । केन्द्रका अनुसार सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासहित ऐच्छिक विषयका पाठ्यपुस्तक निजी क्षेत्रबाट तयार हुन्छ । केन्द्रले तोकेको पाठ्यक्रमअनुसार निजी प्रकाशन गृहहरूले विषय विज्ञहरूबाट पुस्तक तयार पारेर शिक्षक–विद्यार्थीसम्म पुर्‍याउनेछन् । त्यसका लागि केन्द्रको भने स्वीकृति लिनुपर्छ । निजी प्रकाशनबाट पुस्तक तयार भएपछि केन्द्रले अध्ययन गर्ने र पठनपाठनका लागि स्वीकृति दिने प्रावधान छ ।

पाठ्यक्रम विकास केन्द्रले समाजिक अध्ययन विषयकाे माध्यमवाट विद्यार्थीहरूलाई खोज पद्धतिमा सिपयुक्त बनाई जिज्ञासा समाधानका लागि प्रश्न गर्न सक्ने, तथ्याङ्क सङ्कलन तथा विश्लेषण गर्न सक्ने र उक्त तथ्याङ्क तथा सूचनालाई जीवन उपयोगी बनाउने क्षमताको विकास गराउन खाेजिएकाे जनाएकाे छ । केन्द्रका अनुसार यस विषयमा समाजमा घट्ने घटनाहरूको विश्लेषण गरी त्यसका कारण तथा प्रभाव खोज्ने र कुनै पनि विषयप्रति समालोचनात्मक दृष्टिकोणबाट विश्लेषण गर्ने सिपको विकास गराउन जोड दिइएको छ ।

यसै गरी विद्यार्थीहरूलाई भौगोलिक, ऐतिहासिक र समसामयिक विषयसँग परिचित भई सम्बन्धित विषयमा विश्लेषण गर्न सक्ने एक सचेत नागरिक तयार गर्नु पनि यस विषयको मुख्य उद्देश्य रहेकाे छ । यस विषयमा विद्यार्थीको सिकाइस्तर मूल्याङ्कनका लागि सैद्धान्तिक र प्रयोगात्मक दुवै विधि प्रयोग गर्ने व्यवस्था गरिएको छ । यसमा कक्षा ११ मा १० ओटा विषयगत क्षेत्रहरू समावेश गरी सिकाइमा जोड दिएको छ ।

किशोरावस्था मानव जीवनको सङ्क्रमणकालीन अवस्था हो । यो उमेरमा किशोर किशोरीले शारीरिक परिवर्तनलगायत विभिन्न प्रकारका भित्री तथा बाहिरी दवाबहरूको सामना गर्नुपर्ने हुन्छ । बाल्यकाल पार भइसकेको तर पूर्ण वयस्क जीवन सुरु नभइसकेको यो चरणमा किशोर किशोरीमा विभिन्न किसिमका द्विविधाहरू उत्पन्न हुने, आफूलाई कसरी व्यवस्थापन गर्ने र परिवार तथा समुदायका सदस्यहरूसँग कसरी व्यवहार गर्ने भन्ने जस्ता प्रश्नहरू उब्जने गर्दछन् ।

विद्यालय शिक्षा पूरा गरेपछि विद्यार्थीहरू कार्यमूलक जीवनमा प्रवेश गर्नुपर्ने भएकाले केही व्यवहारकुशल तथा जीवनोपयोगी सिपहरू विद्यालय तहमै हासिल गर्नु आवश्यक हुन्छ । त्यसैले औपचारिक शिक्षाका माध्यमबाट उनीहरूको दैनिक जीवनसँग सम्बन्धित सिपहरू प्रदान गर्न छुट्टै विषयका रूपमा जीवनोपयोगी शिक्षाको पाठ्यक्रम निर्माण गरी अध्यापन गराउन लागिएको हो । विद्यालय शिक्षाको पाठ्यक्रम प्रारूप, २०७६ ले कक्षा १२ का विद्यार्थीहरूका लागि जीवनोपयोगी शिक्षा अध्यापन गराउने व्यवस्था गरेबमोजिम यो पाठ्यक्रम तयार गरिएको थियाे तर अब कक्षा ११ मा पनि याे विषय सामाजिक अध्ययन विषयसंगै एकीकृत गरेर लैजानु पर्ने भएकाे छ ।

यस विषयकाे पाठ्यक्रमले सिप र अभिवृत्ति पक्षमा जोड दिएकाे हुँदा यस विषयको अध्ययन अध्यापनमा सैद्धान्तिकभन्दा व्यावहारिकर प्रयोगात्मक पक्षमा बढी जोड दिनुपर्ने हुन्छ । यस विषयका लागि कक्षामा १२ मा ५ पाठ्यभार अर्थात् कुल १६० कार्यघण्टा छुट्याइएको मध्ये विषयवस्तुलाई १२० कार्यघण्टाको सैद्धान्तिक तथा ४० कार्यघण्टाको व्यावहारिक अभ्यास समावेश गरिएको छ ।

 मूल्याङ्कनलाई शिक्षणसिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा विकास तथा प्रयोग गर्नु आवश्यक छ । यसका लागि विद्यार्थीमा आवश्यक जीवनोपयोगी सिप तथा अभिवृत्तिहरू हासिल भए नभएको परीक्षण हुने गरी मूल्याङ्कनका विभिन्न विधि तथा साधनहरू निर्माण तथा प्रयोग गर्नुपर्दछ । मूल्याङ्कन प्रक्रियालाई सहजीकरण गर्नका लागि मूल्याङ्कनका आधारसमेत यस पाठ्यक्रममा समावेश गरिएको छ ,केन्द्रले भनेकाे छ।

राष्ट्रिय टाइम्सका लागि, शिक्षा संवाददाता सन्तोष पोखरेलले तयार पार्नुभएको खबर ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार