"सुकेका आँसुहरु" - दिपेश कुमार भगत


Dipesh Kumar-Bhagat
प्रकाशित: भाद्र ११, बिहिबार, बिराटनगर 

"सुकेका आँसुहरु"

आजभोलि झ्याल खोली नगरका
यी सुनसान सडकहरु नियाल्छु। -२
साग र आलु बेच्न बसेका अनि
हलीहरु अनाथ भएझैँ देख्छु ,
ढाकी र डालो सजाउनेहरु माथि 
निषेधाज्ञाको लाठी प्रहार भएको हेर्छु। आजभोलि ........ नियाल्छु। -१

मास्कले छोपिएको आधा अनुहार
अनिश्चितताको अन्धकारमा डुबेका देख्छु,
रोजगार बिहिन स्वाभिमानीहरु माथि 
घरबेटी र महाजनबाट बर्सिएका
सुमधुर गालीहरु सुन्छु ।
आजभोलि ............ नियाल्छु। -१

बन्दाबन्दी र महामारीको आडमा 
थुनिएका उच्छ्वासहरु महसुस गर्छु,
डर त्रासले निराश आत्माहरु
झुन्डिएर देह त्याग्नेका
सङ्ख्याहरु गन्छु,
टुहुरा र माग्नेहरुबाट मुक्त सहरको 
सुन्दरता देखेर झनै प्रफुल्ल हुन्छु।
आजभोलि ................नियाल्छु। -१

अर्थतन्त्र उकास्ने मन्त्र-सूत्रको 
गणितीय योग केलाउँछु,
दिनरात जोखिम बोक्ने सेवाकर्मी
उपासकहरु आफ्नै आँगनमा
निषेधित अपराधी भएको पाउँछु।
आजभोलि ................नियाल्छु। -१

सुनौला भविष्यका सपनाले भरिएका 
कैयौं निर्मलाका निर्दोष आँखाहरु,
न्यायको आशामा अझै रोइरहेका सुन्छु,
कामदेव र रावणहरु आज पुजनीय बनेका देख्छु।
आजभोलि ................नियाल्छु। -१

नव निर्मित राष्ट्रको नयाँ रुप देखेर 
थोरै लज्जित पनि हुन्छु,
तर म रुन्न !
म कसरी रुन्छु ?
मेरा आँखाका थोपाहरु मदिरामय मादले
चम्किला धातु अनि प्रभुत्वको रापले 
सुकी सकेका छ्न् ।

मभित्रको "म" सायद पाषाण भएका छन्।
मभित्रको "म" सायद पाषाण भएका छन्।

दिपेश कुमार भगत 
विराटनगर ११, मोरङ
(लेखक मेरिल्याण्ड कलेज, बिराटनगरका संयोजक हुनुहुन्छ )

.

प्रतिक्रीया दिनुहोस :

1 Comments

आफ्नो प्रतिक्रिया दिनुहोस् :

  1. Dipesh Sir, saw your photo and immediately clicked on the link, Beautiful writing.

    ReplyDelete

Post a comment

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार