प्रकाशित :भाद्र ३ , बुधबार
म्यूजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाउने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १ गते अपलोड गरिएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मंगलवार दिनभरि अप्रेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चारजना पक्राउ गरिसकेको जानकारी दिएको छ ।
म्यूजिक भिडियो का अन्य ६ जना व्यक्तिहरूको पनि पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले बताउनुभयो । मंगलबार पक्राउ पर्नेहरुमा एक युवती र तीन जना युवाहरु छन् ।
पक्राउ पर्नेहरुमा क्यामरा मेन, आवाज भर्ने, सम्पादन गर्ने र लिएर एडिट गर्ने व्यक्तिहरू रहेका छन् । थापाका अनुसार प्रमुख अभिनय कर्ताहरुको अहिले खोजीकार्य भइरहेको छ । उक्त भिडियो काठमाडौंमै एडिट गरेर युट्युबमा राखिएको पत्ता लागेको छ । उक्त भिडियो एक युट्युब च्यानल मार्फत 'देशद्रोही' नाम गरी सार्वजनिक भएको थियो जसमा भिडियोको ४० औं सेकेन्डमा गायक गेलजङ दोर्जे तामाङले झण्डा जलाएका थिए ।
साथै भिडियोको अन्त्यमा राष्ट्र निर्माता पृथवीनारायण साह, पूर्व राजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य वरिष्ठ नेता मन्त्री हरुको तस्विर जलाइएको देखाइएको थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :