साल्ट ट्रेडिङ कर्पोरेसनले यूरिया मल नेपाल भित्र्याउन थाल्यो |


प्रकाशित: भदौ १०, बुधबार , विराटनगर
पछिल्लो तीन दिनमा वीरगन्ज र विराटनगर नाका भएर तीन हजार सात टन यूरिया मल नेपाल भित्रिएको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । मंगलबार साँझ वीरगन्जमा रेलमार्फत एक कार्गो र्‍याक २५ सय टन र विराटनगरमा तीन दिनदेखि ट्रकमार्फत ५०७ टन यूरिया मल भित्रिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राज भण्डारीले जानकारी दिए ।कलकत्ता बन्दरगाह आएर थन्किएको बाँकी २९ हजार टन मल नेपाल भित्रिन अझै तीन साता लाग्ने कर्पोरेसनले जनाएको छ भने दुई हजार पाँच सय टनको कार्गो र्‍याक लोड भइसकेको र शुक्रबारसम्म वीरगन्ज आइपुग्ने साल्ट ट्रेडिङले जनाएको छ । विराटनगरबाट हरेक दिन ट्रकमार्फत मल ल्याएर राखिएको कर्पोरेसनले जनाएको छ ।

कोभिडका कारण खरिद भएको मलको सिपिङ गर्न नसकिएको तथा कलकत्ता बन्दरगाह बन्द हुँदा आएको मल समयमै नेपाल ल्याउन नसकिएको साल्ट ट्रेडिङले दाबी गरेको छ ।

भित्रिएको मल वितरण सुरु भइसकेको कर्पोरेसनले जनाएको छ । विराटनगरबाट भित्रिएको मल कृषि मन्त्रालयसँगको समन्वयमा राजविराज, लाहान देखि झापासम्म वितरणका लागि मल पठाइसकिएको साल्ट ट्रेडिङले जनाएको छ भने वीरगन्जबाट भित्रिएको मल तराई र पहाडका जिल्लामा मिलाएर वितरण गरिने कृषि मन्त्रालयले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार