आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट स्वदेश आउने नेपालीहरूको दैनिक संख्यालाई ५०० बढाएर ८०० पुर्याएको छ।
अब नियमित र उद्धार उडान बाट दिनमा ८०० सम्म नेपालीलाई स्वदेश आउन दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
विगतमा यस्ता निर्णय भएपनि यात्रुको व्यवस्थापन र क्वारिन्टिन तथा आइसोलेसनको समस्याले उडान समेत रद्द गर्नुपरेको थियो भने अब आउने यात्रुको व्यवस्थापनको सम्पूर्ण जिम्मा पर्यटन मन्त्रालयलाई दिइएको छ । प्रवक्ता डा. खतिवडाका अनुसार उडान संख्या, यात्रुको व्यवस्थापन र क्वारिन्टिन तथा आइसोलेसनको क्षमता हेरेर पर्यटन मन्त्रालय स्वयंले सम्बन्धित निकायसँग समन्वय गरेर यात्रुलाई व्यवस्थापन गर्ने गरी मन्त्रिपरिषदले जिम्मेवारी दिएको छ ।
आज बाट सुरु हुनेभएको नियमित उडानहरूमा नेपाली नागरिक कूटनीतिक नियोगका कर्मचारी आउन पाउनेछन् भने त्यस ठाउँका दूतावाससँग समन्वय गरेर प्राथमिकताका आधारमा मापदण्ड पूरा गर्ने गैरआवासीय नेपालीहरु पनि आउन सक्नेछन् ।
नियमित फ्लाइटको संख्या कम हुँदा एयरलाइन्सहरुले चर्को भाडा असुल्न थालेको जानकारी सरकारलाई दिँदै आएका थिए भने यात्रु र फ्लाइटको संख्या बढाएपनि टिकट को दर भने घटेको छैन। महामारीअघिको भन्दा तेब्बरसम्म भाडा तिरेर आउनुपर्दा समस्यामा परेका नेपाली कामदारहरु झनै मार्कामा परेका छन् भने कतिको फर्कने अवस्था पनि छैन।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :