एक युवकले राति करिब १:१५ बजेतिर जिल्ला प्रहरी कार्यालय, धादिङको गेटमा पुगेर आफूले मान्छे मारेर आएको कुरा बताएपछि त्यहाँ खटिएका प्रहरी झस्किएका थिए । उनले गरेको दाबीमा प्रहरीले विश्वास गरेनन् तर उनको झोलामा रगत लागेको देखिएपछि त्यहाँका प्रहरी निरीक्षक सरोज राईलाई रिपोर्ट गरे ।
धादिङ्गको निलकण्ठ नगरपालिका -१३ , खलचेत बस्ने २६ वर्षीय राजु परियार ले आफूले मान्छे मारेर आएको कुरा प्रहरी निरीक्षक राईलाई बताउँदै झोलाबाट मानिसको टाउको निकालेर देखाए ।
त्यसपछि प्रहरी अपरधत स्थलतर्फ अनुसन्धानका लागि पुगेको थियो । धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार, खुर्पाले हानेर खलचेतकै ६५ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेर परियार प्रहरी कहाँ आत्मसमर्पण गर्न आएका हुन् । डेढ घण्टा गाडीमा लाग्ने समयको बाटो , पैदल यात्रा गरी परियार आत्मसमर्पण गर्न जि.प्र.का पुगेका थिए ।
प्रहरीले अपराधस्थलमा पुगेर बलको प्रकृति मुचुल्का गरिसकेको छ र पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ । प्रारम्भिक सोधपुछका अनुसार सामान्य विवादका कारण उक्त घटना भएको पाइएको रेग्मीको भनाई छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :