गरुडाको हिरासतमा मृत्यु‌ प्रकरणमा यातना दिइएको; छानविन समितिको निष्कर्ष ।



प्रकाशित: असोज ९, शुक्रबार, रौतहट । 
रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको सरकारी छानविन समितिले निष्कर्ष निकालेको छ ।

समितिका एक सदस्यका अनुसार जिल्लाको नेतृत्व तहमा रहेका अधिकारीले पनि पदीय जिम्मेवारी कुशलतापूर्वक पूरा नगरेको भन्दै समितिले तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविराज खड्का, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र यादवलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ भने हिरासतमा गएर यातना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।

हिरासतमा रहेकै बेला स्वास्थ्य विग्रिएको भन्दै प्रहरीले वीरगञ्ज लगेको थियो र नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको भनिएको १९ वर्षीय विजय रामलाई गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा प्रहरीले ३२ साउनमा पक्राउ गरेको थियो ।

तर, मृत्युअघि अस्पतालमा विजयले आफूलाई प्रहरीले हत्या अभियोग स्वीकार गर्न यातना दिएको बयान दिएको भिडियो समेत सार्वजनिक भएपछि र विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटबाट मृत्यु भएको दाबी गरेपछि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उप-सचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।


२ नं. प्रदेश प्रहरी गणका एसपी जयराज सापकोटा र राष्ट्रिय अनुसन्धान विभागका एसपी सदस्य रहेको समितिले गृह सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको छ भने समितिको सिफारिस अनुसार विभागीय कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको तयारी रहेको र यसबारे गृहको पत्र आइनसकेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार