पर्यटकीय तथा धार्मीक आकर्षणको केन्द्र: चुलाचुली गुफा - सन्तोष पोख्रेल |


santosh-pokharel

प्रकाशित: भाद्र २९, सोमबार ।
सनातनी शैवहरूले अघिदेखि महादेव भनेरै यहाँ दैनिक पूजा चलाउँदै आएका छन् । शैव पुजारीमा प्रायः सन्न्यासीहरू हुने हुँदा यहाँका पुजारी पनि गिरी, पुरी, सन्न्यासी नै हुन्थे । यी महन्त पुजारीहरूलाई सेन राजाले दिएका भूमिजग्गाका लालमोहरहरू प्रशस्त पाइन्छन् ।
नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी.मध्ये रामप्रसाद राई गाउँपालिकाले ०.११ प्रतिशत, १ नं प्रदेशको कुल क्षेत्रफल २५९०५ वर्ग कि.मी. मध्ये ०.६१ प्रतिशत ,भोजपुर जिल्लाको कुल क्षेत्रफल १५०७ वर्ग कि.मी. मध्ये १०.३८ प्रतिशत ओगटेको यस गाउपालिकाको कुल क्षेत्रफल १५६.२५ बर्ग कि.मि. रहेको छ । वडा नं. ४ साविक दलगाउ को क्षेत्रफल २०.१६ वर्ग कि.मी. रहेको छ । भोजपुर सदरमुकामसम्म यहादेखि पुग्नको लागि जम्मा (५ कोष) १८.५० कि.मी. रहेको छ । भोजपुरलाई परिचय दिन विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गौरवका चिनो पर्याप्त छन् । पूर्वाञ्चलको मध्यपहाडी जिल्लाको माझकिराँतमा अवस्थित यस जिल्ला जति प्रसिद्ध छ त्यति नै विकट पनि छ । यहाँको संस्कृतिमा किराँत बाहुल्य पाइन्छ ।

कुनै बेला भोजपुर भन्नेबित्तिकै टक्सार बजार जोडिएर आउँथ्यो । । देशको पूर्वी यात्रा गर्दा राजा महेन्द्रले टक्सारलाई औद्योगिक नगरीको रूपमा विकास गर्न निर्देशन दिएका थिए । तामाका पैसा काट्न वि.सं. १८७२ मा स्थापित थियो, टक्सार । हाल टकविहीन छ टक्सार । त्यो परिचय हाल भोजपुरे खुकुरी र करुवाले दिएका छन् । टक्सारको साख हराएझैँ लाग्छ । बिचरा निरीहजस्तो देखिन्छ, टक्सार !

भोजपुर जिल्लाको सदरमुकाम भोजपुर नै हो । भोजपुर पुग्दा पहाडी आकर्षक नागबेली प्राकृतिक आयतनले जोकोहीलाई पनि लोभ्याउँछ । हाल भोजपुरको मुख्यः विशेषता भनेको पर्यटकीय सम्पदास्थल बनेका छन् । खोटाङ र भोजपुरको सीमावर्ती ट्याम्केडाँडा पूर्वाञ्चलकै अग्लो डाँडाको रूपमा चिनिन्छ । धार्मिक रूपमा आस्था राख्नेलाई जिल्लाका साल्पा–सिलिचिङ, सिद्धकाली मन्दिर, सातधारा, षडानन्द आश्रम, दिङ्ला, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागडी आदि प्रसिद्ध छन् । सांस्कृतिक एवम् ऐतिहासिकता अध्ययन गर्नेहरूका लागि किराँती संस्कृति पर्याप्त छन् ।

जिल्लाकै सबैभन्दा ठूलो र अग्लो पिखुवा खोला झरनाको मनोरम दृश्य हेर्दा जो कोहीको मन लोभिन्छ । त्यसका अलवा भोजपुरमा चखेवा डाँडा, घोरेटार बजार, हाँसपोखरी, दिङ्ला, टक्सारबजार, सुन्तलेडाँडा, रानीवास, पैयुँडाँडा आदि अमुल्य प्राकृतिक स्रोतसाधन र सम्पदाहरू छन् ।

chulachuli-gufa

भोजपुर सुन्दर छ, तर यसको सुन्दरतालाई न राज्यले चिन्न सकेको छ न स्थानीयहरूले नै । पर्याप्त पर्यटकीय स्थलहरू भएर पनि प्रचारप्रसारको अभावमा भोजपुर निरीह बन्न बाध्य छ । समृद्ध र समुन्नत भोजपुरको कल्पना गर्दा पर्यटनलाई प्रमुखतामा राख्न आवश्यक देखिन्छ । आर्थिक विकासका लागि पर्यटन प्रमुख चिज हो ।

जसले जिल्लाको आर्थिक ढोका खोल्न सक्छ । मुख्य गरेर भोजपुरको जनजीवन खेतीकिसानीमा निर्भर छ । स्रोतसाधनको दृष्टिले सम्पन्न भएर पनि भोजपुर विकट हुनुका कारण विकासको गति धिमा देखिन्छ । यद्यपि विकासका गतिहरू विस्तारै अघि बढ्ने तरखरमा छन् । जिल्ला समृद्ध बन्नु भनेको जिल्लावासीको प्रतिष्ठा बढ्नु हो । पर्यटनलाई जिल्लाको मेरुदण्ड बनाउन सक्ने हो भने भोजपुर जिल्लाको रूप फेरिन त्यति समय लाग्ने छैन ।
काठमाडौ–भोजपुर हवाईसेवा सञ्चालनमा रहे पनि त्यो औंसी–पूर्णेजस्तो छ । भरपर्दो मानिएको हिले–लेगुवा सडकमार्ग पनि बाटोको स्तरोन्नति हुन नसक्दा यात्रुहरूले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । भोजपुर पुग्न धरानबाट करिब एक दिनको सवारीसाधनको कष्टपूर्ण यात्रा तय गर्नुपर्दछ ।

भोजपुर माझकिरातको मुख्य भूमी किराँत, हिन्दु र बौद्धको त्रिबेणी मानीन्छ । प्राचीनतम महादेवथान मानिने मैनाथानका राई पुजारी आफूलाई ऋषिकुलीन ब्राह्मण मान्छन् । पूर्वको पशुपति भनेर प्रसिद्ध आदिकालको गुफामा रहेको प्राकृतिक मूर्तिलाई पौराणिक कालको भस्मासुरको कथासँग जोडेर अहिले हरेश्वर–हलेश्वर र हलेसी महादेव भनिन्छ । भारतबाट नेपालहुँदै भोट गएका बौद्ध तान्त्रिक सिद्ध पद्मसम्भव यही हलेसी गुफामा बसेको विश्वासमा बौद्धहरू पनि हलेसीलाई तीर्थस्थल मान्छन् ।

सनातनी शैवहरूले अघिदेखि महादेव भनेरै यहाँ दैनिक पूजा चलाउँदै आएका छन् । शैव पुजारीमा प्रायः सन्न्यासीहरू हुने हुँदा यहाँका पुजारी पनि गिरी, पुरी, सन्न्यासी नै हुन्थे । यी महन्त पुजारीहरूलाई सेन राजाले दिएका भूमिजग्गाका लालमोहरहरू प्रशस्त पाइन्छन् । ट्याम्केको फेदबाट पूर्व पसारिएको डाँडामा भोरनागी देवी, पूर्व बगेको सिक्तेल खोला दक्षिणको कालीडाँडाको उत्तर पाखामा पखुवा देवी छन् । दैनिक बलि दिइने यी दुवै देवीथानमा राई पुजारी छन् । सेल्मेबाट दक्षिण डाँडाको पामाखाम भञ्ज्याङबाट पूर्व बगेको बेहेरे खोलाकै तीरमा बेहेरेश्वर महादेव थान छ । बडेमाको ठूलो ढुंगालाई महादेव मूर्ति मानिने यहाँको बारेमा रमाइलो दन्त्यकथा छ ।

बेहेरे खोलाको शिरदेखि दक्षिणपट्टि मानिस पुग्न नसकिने अपट्टे भीर छ । जहाँ, वारिबाट हेर्दा जन्ती हिंडेका, बोकेको डोलीमा झपन हालेको चित्र देखिन्छ– जसलाई गोल्मा राजा गोल्मा रानीको बिहेसँग जोडेर कथा कहिन्छ । पहराको वरिपरिको रानीवनमा अघिअघि गौरी गाईहरू चर्थे पनि भनिन्छ । भोजपुर सदरमुकामको सिद्धकाली र पहिलेको छोटी अड्डा खोटाङको सिद्धकालीमा जस्तै बेहेरेश्वर महादेवमा गोल्मा देवीको पनि दैनिक पूजाका लागि गुठी खेत राखेर पुजारी बाहुनलाई दिइएको छ । 

यी सवै धार्मीक स्थलहरुको वीचमा रहेको रामप्रसादराई गाउँपालीका वडा नं ४ दिपेनीमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण करीव एक रोपनी जग्गामा फैलीएको चुलाचुली गुफा अर्को धार्मीक तथा साँस्कृतीक स्थल हो । प्रसस्त कुदिएका ढुङ्गाहरु छरपष्ट रहेको यो गुफा वरी परी विभिन्न देवी देवताका मूर्तीका आकृतीहरु देख्न सकिन्छ । गुफा भित्र महादेवको मूर्ती रहेको छ । किरातहरुको वस्ती रहेको यो क्षेत्रमा देवी देवताहरु प्राकृतीक सौन्दर्यको वीचमा मा तपस्या गर्न यहाँ आउथे भन्ने किम्वदन्ती रहेको छ । अत्यन्तै मनमोहक रहेको यो गुफाको वारेमा अर्को किम्वदन्ती पनि रहेको छ । भगवान शिव हलेशी जादा यही वाटो हुदै यहाँ केही समय आराम गरेर जानुभएको भन्ने किम्बदन्ती रहेको छ । धार्मीक हिसावले त यसको महत्व त छदैछ , पर्यटकयि हिसावले पनि यसको सम्भावनाहरु प्रसस्त रहेका छन ।

पर्यटकिय क्षेत्र मध्ये सवैभन्दा महत्वपूर्ण क्षेत्र ट्रेकीङ पनि हो । यो भगवान कै पालादेखि रहेको किम्वदन्ती पाइन्छ । देवी देवताहरु पनी बराह क्षेत्र वाट कौसिकाको तीरै तीर आएर बेहेरेश्वर महादेव, नागछाँगा चुलाचुली गुफा,पखुवा देवी स्थान हुदै ट्याम्के डाँडा , हलेसी महादेव स्थान वाट दुधकोशी हुदै पशुपती नाथ ,श्लेष्मान्तक वन पुग्ने गरेको किम्वदन्ती पाइन्छ । यसलाई आधार मान्दा पनि चुलाचुली गुफाको महत्व प्रष्ट हुन्छ । 

त्यसैले चुलाचुली गुफा को मात्र विकास स्थानीय पालीकाले डिपिआर वनाएर गर्नु पर्छ नै । तर यतीले मात्र पुग्दैन । यसको प्रचार प्रसार देखि लिएर । यातायात ,होटल लगायत का सवै कार्यक्रम यसमा जोड्नु पर्दछ । यो गर्नकालागि ट्रेकीङ रुटकार्य योजना निर्माण गरी स्थानीय पालीकाहरु, प्रदेश सरकार र संघीय सरकार अग्रसर हुनु पर्दछ । एकातीर पर्यटकीय क्षेत्रको रुपमा यसको विकास गर्ने कुरा हुदाहुदै पनि यसको धार्मीक महत्व का हिसावले पनि यसलाई अगाडी बढाउन जरुरी छ ।

- सन्तोष पोख्रेल 
लेखक, आदर्श म. वि. विराटनगरका सह -प्रधानाध्यापक हुनुहुन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार