मापदण्ड पूरा नभएका १९४ कार्टुन सेनिटाइजर बरामद ।


प्रकाशित: अशोज १६, शुक्रबार । 
औषधि व्यवस्था विभागले जारी गरेको मापदण्ड पुरा गर्न नसक्ने मोरङका सेनिटाइजर उद्योग बन्द भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको महेश सोनी द्वारा संचालित सेनिटाइजर उत्पादन गर्ने "पपुलर प्रोडक्ट्स प्रालि " बन्द भएको छ ।

बजारमा विषाक्त रसायन मिसिएका सेनिटाइजर विक्री वितरण भैरहेको पाइएपछि औषधि व्यवस्था विभागले अनुगमनको कार्यालय तीव्र बनाएको छ । पहिले मदिरा उत्पादन गरी आएका महेश सोनीले बन्दाबन्दी सुरु भए पश्चात बुढीगंगा गाउँपालिकामा सेनिटाइजर उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएका थिए ।

यसअघिको अनुगमनमा तोकिएको मापदण्ड पूरा गर्न उक्त प्रालिलाई विभागले निर्देशन दिएको थियो तर मंगलबार विभागले पुनः गरेको अनुगमनको क्रममा पनि मापदण्ड पूरा नभएपछि उद्योगलाई बन्द गरिएको छ । मंगलबार विराटनगरलगायत मोरङका अन्य पाँचवटा सेनिटाइजर उत्पादन गर्ने उद्योगमा औषधि व्यवस्था विभाग विराटनगर प्रमुख सञ्जीव शर्माको नेतृत्वमा अनुगमन तीव्र बनाइएको थियो । 

अनुगमनकै क्रममा विराटनगर १५मा अवस्थित ग्यालेक्सी डेन्टल एंड सर्जिकल सप्लायर्सले मापदण्ड पूरा नगरेको पाइएको छ । अनिल चौधरी द्वारा संचालित उक्त सप्लायर्सले मापदण्ड पूरा नगरेको भेटे पश्चात १९४ कार्टुन सेनिटाइजर बरामद गरिएको छ । 


विभागका अनुसार बरामद गरिएको उक्त सेनिटाइजर हरूको नमूना सङ्कलन गरी परीक्षण को लागि प्रयोगशालामा पठाइनेछ र त्यसको गुणस्तर मापन गरिनेछ । यदि गुणस्तरहीन भेटिएमा विभागमार्फत थप कारबाही अगाडि बढाइने छ । परीक्षणको नतिजा नआउन्जेलसम्म लागि उक्त उद्योगको उत्पादन तथा बिक्री वितरणमा समेत रोक लगाइएको विभागले जानकारी दिएको छ । 

पछिल्ला केही दिनहरुमा सेनिटाइजर को कारोबार बढेका कारणले विभिन्न कम्पनीहरुले उत्पादन गरेका सेनिटाइजर हरुमा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मिथानोल केमिकल मिसाइएको पाइएको छ । यसका साथै सेनिटाइजर बनाउँदा अल्कोहलको मात्रा एकदमै कम प्रयोग गरिएको समेत पाइएको छ ।

यस्ता किसिमका बिषाक्त रसायनहरु मिसिएका सेनिटाइजर हरूको प्रयोग गर्दा छालामा समस्या देखिने, फुस्रो हुने, छाला फुट्ने, हातहरू सुनिने र व्यक्तिको ज्यान समेत जाने सम्भावना रहेको विभागले जनाएको छ । विभागले अहिलेसम्म १५ वटा कम्पनीले उत्पादन गरेका सेनिटाइजर हरु प्रयोग नगर्न सार्वजनिक सूचना समेत जारी गरिसकेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार