धान खेतमा माछापालनः चार महिनामा तीन लाखभन्दा बढी आम्दानी



प्रकाशित: कार्तिक १३, बिहिबार, कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । 

जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् । उनले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उनले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पु¥याएर विक्री गरेका छन् । 

‘धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं’, उनले भने, ‘माछापालनबाट सोचे भन्दा बढीनै आम्दानी भएको छ ।’ धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उनको भनाइ छ । ‘धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन’, ऐरले भने, ‘माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छ ।’ 


धान काटेर थन्क्याई सकेका उनले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । धानखेतसँगै उहाँले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गरेका छन् । विगतका वर्षमा ५÷६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उनको भनाइ छ । 

धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पुर्‍याउने उनको योजना छ । खेतमा माछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ । त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ । 

धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उनको भनाइ छ । माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ । ‘खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ’, ऐरले भने, ‘यसको बजार मूल्य रु छ लाख रहेको छ ।’ माछापालनका लागि मात्रै ऐरले रु पाँच लाख लगानी गरेका छन । माछापालनसँगै उनले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पालेका छन् । 

फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालेका उनले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन । फार्म सञ्चालनका लागि केही रकम आफूसंगै भएको र केही रकम बैंकबाट ऋण लिएको उनको भनाइ छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार