पीएसजीको ४–० को सानदार जित ।


प्रकाशित: कार्तिक १, शनिबार, एजेन्सी । 
फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि फराकिलो जित दर्ता गर्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । निम्समा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ४–० को सानदार जित हात पार्दै पीएसजी शीर्षस्थानमा उक्लिएको हो । पीएसजीको सहज जितमा एमबाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी र पाब्लो सारावियाले समान एक गोल गरे ।

खेलको १२औं मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएपछि पीएसजीलाई सहज भएको थियो । लुक लान्ड्रेले राफिन्हामाथि फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो । त्यसको फाइदा पीएसजीले उठाउन सफल भयो ।२६औं मिनेटमा पीएसजीले पहिलो आक्रमण बुन्दा एमबाप्पे चुके । उनले पाब्लो सारावियाको क्रासमा सिक्स यार्ड बक्सबाट गरेको हेडर पोस्टबाट थोरै बाहिरियो । ३१औं मिनेटमा फ्लोरेन्जीको क्रसमा एन्डर हेरेराको हेडरलाई निम्सका गोलरक्षक बापटिस्टे रेनेटले सुन्दर बचाउ गरे ।

तर ३२औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । गोलरक्षक केलर नाभासले रिलिज गरेको बललाई राफिन्हाले दिएको पासलाई एमबाप्पेले गोलरक्षक अघि बढेको अवस्थामा खाली पोस्टमा जाली चुमाएका थिए ।

३९औं मिनेटमा मोइस किनको प्रहारमा गोलरक्षक रेनेट नै बाधक बने । ४९औं मिनेटमा एमबाप्पेको प्रहारलाई रेनेटले अर्काे उत्कृष्ट बचाउ गरे । ६७आं मिनेटमा फ्लोरेन्जीको प्रहार पोस्टमा लागेर बाहिरिदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । ७५औं मिनेटमा फ्लोरेन्जीको अर्काे प्रहार पुनः पोस्टमा लाग्दै बाहिरियो ।


त्यसपछि पीएसजीले ११ मिनेटको दौरान तीन गोल गर्दै फराकिलो जित निकाल्न सफल भयो । ७७औं मिनेटमा फ्लोरेन्जीले पाब्लो सारावियाको पासमा गोल गर्दै पीएजसीको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा सारावियाकै पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा कोलिन डग्वाको पासमा पाब्लो सारावियाले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए । लिग वानको पछिल्लो पाँच खेलमा पीएजसीको यो लगातार पाँचौ जित हो । पीएसजीले सुरुवाती दुई खेल गुमाएको थियो ।

जितसँगै पीएसजीको ७ खेलबाट १५ अंक पुगेको छ । समान खेलबाटै रेनेसलेको पनि १५ अंक नै रहेपनि गोलअन्तरमा पीएसजी शीर्षस्थानमा छ । निम्स ८ अंकसहित १३औं स्थानमा छ ।

लिग वानकै अर्काे खेलमा रेनेस डिजोनसँग १–१ गोलको बराबरीमा रोकिदा शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । रेनेसले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

रेनेसेका मार्टिन टेरिएरले गोल गर्दा डिजोनका मामा बाल्डेले बराबरी गोल फर्काएका थिए । बराबरीसँगै अपराजित रहेको रेनेसको ७ खेलबाट १५ अंक पुगेको छ । डिजोन २ अंक जोडेर पुछारमा छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार