विराटनगरमा एक हजार बेडको अस्पताल बनाउने भनेर प्रदेश सरकारले जनतालाई झुक्याएको आरोप ।


प्रकाशित: असोज २८, बुधबार, बिराटनगर । 
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश नम्बर १ का प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले कोरोना महामारीको समयमा समेत प्रदेश सरकार कमिसनको चक्करमा फसेको आरोप लगाएका छन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक हजार शैय्याको कोभिड अस्पताल बनाउने घोषणा गर्दै प्रचार–प्रसार गरेता पनि सो हुन नसकेको र बिरामीले घरमै छटपटाएर ज्यान गुमाइरहदा समेत सरकार मौन रहनु दुःखद रहेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए। 

प्रमुख सचेतक कार्कीका अनुसार अगुवा भनेको सरकारकै अवस्था असभ्य र अशिक्षित प्रकारको देखिएको छ भने प्रदेश सरकारलाई साधन स्रोत र बजेटको नभई कार्यशैली, कार्यक्षमता र योग्यताको अभाव देखिएको उनको भनाइ छ। त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशका मन्त्री र मुख्यमन्त्रीबीचमा कसले कमिसन खाने भन्ने दुबिधाले कुनै काम पूर्ण रुपमा नभएको बताए।जनता मारमा परेका छन् तर सरकार भ्रष्टाचारमा लिप्त भयो, सबै मन्त्रीले कोरोनाको नाममा भागण्डा खोज्ने गरेको छ ।

कोरोनाका कारण प्रदेश पूर्ण रुपमा आक्रान्त बन्दा सरकारका बैठक, समारोह मास्कबहीन बन्नु र सामाजिक दूरीको धज्जी उडाइनु लज्जास्पद भएको कांग्रेसको टिप्पणी छ भने कांग्रेसले भेन्टिलेटर सुविधासहितको एक हजार शैय्याको कोभिड अस्पताल १५ दिन भित्रै सञ्चालनमा ल्याउनका लागि पनि प्रदेश सरकार समक्ष माग गरेको छ।

यस्तो छ प्रेस ब्रिफिंग :
आदरणीय पत्रकार बन्धुहरू
हार्दिक जय नेपाल ।
छोटो समयमा गरिएको हाम्रो निमन्त्रण स्वीकार गरेर यहाँ उपस्थित हुनुभएका सबै सञ्चारकर्मी मित्रलाई म हार्दिक स्वागत गर्दछु । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण अहिलेको समाज, राष्ट्र र संसार नै खलबलिएको अवस्थामा पुगेको छ । मानव जीवन अस्तव्यस्त भएको छ । म मूलतः हाम्रो प्रदेश नम्बर १ मा केन्द्रित हुन चाहन्छु । यो प्रदेश कोरोना सङ्क्रमणको हट स्पट बनेको छ । 


दिनानुदिन अनपेक्षित रूपमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सरकारी कार्यक्रम र समारोह होस् वा गुदरी, शहर, हाटबजार कतै पनि स्वास्थ्यसम्बन्धी प्रोटोकलको ख्याल गरेको देखिँदैन । मास्कको प्रयोग नगरी र दूरी कायम नगरी तीन तहकै सरकारका बैठक, समारोह र कार्यक्रम भइरहेका छन् । अगुवा भनेको सरकारकै अवस्था असभ्य र अशिक्षित प्रकारको देखिएको छ । म यहाँहरूलाई के स्मरण गराउन चाहन्छु भने साउनको अन्तिम हप्तामा यस प्रदेशका माननीय मुख्यमन्त्री श्री शेरधन राईजीले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शय्याको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गर्नुभएको थियो । 

यो घोषणा उहाँले सार्वजनिक रूपमा गर्नुभयो । राजनीतिक दलहरूको बैठकमा पनि गर्नुभयो र सञ्चारमाध्यमबाट प्रचार–प्रसार पनि गर्न लगाउनु भयो । तर आज कहाँ छ कोभिड अस्पताल ? अर्कातिर भेन्टिलेटरयुक्त उपचार नपाएर प्रदेशमा कोभिड–१९ का बिरामीहरू घरघरमै छटपटाएर मरिरहेका छन् । प्रदेश सरकारलाई यसको कुनै वास्ता छैन । मुख्यमन्त्री र अन्य मन्त्रीहरू सार्वजनिक उद्घाटन र शिलान्यासमै व्यस्त देखिएका छन् । प्रदेश सरकारमा अलिकति पनि मानवीय संवेदना र करूणा देखिएको छैन ।
 
मित्रहरू, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालका ८ भेन्टिलेटरमध्ये ५ वटा बिग्रिएका छन् । कोशी कोभिड अस्पतालका ५ मध्ये २ वटा बिग्रेका छन् । कोभिड–१९ का बिरामीले सामान्य न्यूनतम उपचारसमेत नपाउने अवस्था उत्पन्न भएको छ । नोबेल, न्यूरो र विराट जस्ता निजी क्षेत्रका अस्पतालका भेन्टिलेटर यहाँका बिरामीका लागि अपर्याप्त भएका छन् । अत्यधिक बहुमतप्राप्त प्रदेश सरकारबाट हामीले गरेको अपेक्षा चकनाचुर भएको छ । 

प्रदेशका नागरिक कोरोनाको सङ्क्रमणबाट कोही मरून् वा बाँचून् त्यसको मतलब मुख्यमन्त्री र अन्य कुनै मन्त्रीलाई छैन । प्रदेशको नागरिक उपचार नपाएर आफ्नै घर वा डेराको आइसोलेसनमा अत्यन्त दयनीय र पीडादायी रूपमा मर्न बाध्य छन् तर पनि सरकारको आँखा खुलेको छैन । प्रदेश सरकारलाई साधन, स्रोत र बजेटको अभाव पनि भएको होइन । अभाव त कार्यशैलीको, कार्यक्षमताको र योग्यताको देखिएको छ । 

यस जटिल परिस्थितिमा हामी १५ दिनभित्र प्रदेश राजधानी विराटनगरमा १ हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गरियोस् भन्ने माग गर्दछौँ । अन्तमा यहाँ उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो भनाइ टुङ्ग्याउँदछु । साथीहरू, अब हामी प्रश्नोत्तरमा प्रवेश गर्न सक्नेछौँ ।

 जय नेपाल । 
केदार कार्की 
प्रमुख सचेतक, 
नेपाली काङ्ग्रेस प्रदेश सभा, 
प्रदेश नम्बर १ 
मितिः–२०७७, असोज २७, मङ्गलबार । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार