आज घटस्थापना, यसरी मनाइन्छ नवरात्र ।



प्रकाशित: कार्तिक १, शनिबार, विराटनगर । 
आजबाट सम्पूर्ण नेपालीहरुको महान चाड दशैं सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घटस्थापना हो । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगत गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधि विधान छ । 

शुद्ध माटो तथा गोबरले लिपि घर शुद्धीकरण गरी शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गर्ने चलन रहेको छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ पनि भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।


नौ दिनसम्म मनाइने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्ने बारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ ।

"यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् ।" 

अर्थात् जुन-जुन कामनाले भगवतीको आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ ।

दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

पूजा गर्दा नौ दिनसम्म कुन-कुन दिन कसको र के-के सामग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नुपर्दछ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपूर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ । 

सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य (जमरा) छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

१. पहिलो दिन:
घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ ।

गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा दीर्घायु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख गरिएको छ ।

२. दोस्रो दिन:
दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि गुड चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

३. तेस्रो दिन:
तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । दुःख कष्टबाट मुक्ति पाउनका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामी माथि सधैंभरि रहन्छ ।

४. चौथो दिन:
चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ ।

५. पाँचौ दिन:
पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ । स्कन्धमाताको पूजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।

६. छैटौँ दिन:
आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्नुपर्दछ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने र विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने भनिएको छ ।

७. सातौँ दिन:
नवरात्रको सातौं दिन अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घर मा फूलपाती भित्राउने चलन छ । यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ । कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर (गुड) दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।

८. आठौँ दिन:
महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्दछ । यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

९. नवौं दिन:
घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गर्नुपर्दछ । घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार