नेपाल विरुद्ध बोल्ने भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा दिदै सरकार !


काठमान्डौ । नेपाली सेनाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको छ।  सैनिक जनसम्पर्क निर्देशनालयले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको कात्तिक १९ गतेदेखि २१ गतेसम्म हुने भ्रमणबारे जानकारी गराएको हो। 

सेनाका अनुसार नरवणेसँगै चार सदस्यीय भ्रमण दल नेपाल आउन लागेको हो। नरवाणे नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि नेपाल आउन लागेका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सेनाले जनाएको छ। 

नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतको मानार्थ सेनाध्यक्ष हुन्छन् भने भारतका सेनाध्यक्ष नेपालका मानार्थ प्रधानसेनापति हुन्छन्। 

भारतीय सेनाध्यक्ष नरवणेले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। 


त्यस्तै नरवणेले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्नेछन्।  प्रधानसेनापति थापाको निमन्त्रणामा नेपाल आउन लागेका नरवणेको नेपाल भ्रमणमा हुने कार्यक्रमबारे सार्वजनिक गरिए पनि त्यसको समय भने खुलाइएको छैन।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार