वर्षौँदेखि च्याङ्ग्रा चीनमा चराउँदै



महेन्द्रनगर । बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेँडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ । 

कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाडौं र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङ्गको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेँडा/च्याङ्ग्रा पालेर मनग्य आम्नादी गर्न थालेका छन् । दसैँका लागि १ सय १२ वटा भेँडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर फर्किने क्रममा धनगढी पुगेका साइपाल गाउँपालिका–१ धलनका उब्जन बोहराले यस पटक रु ३० लाखको च्याङ्ग्राको कारोबार भएको बताए । “साइपालबाट बिक्रीका लागि पोखरा पुगेका १२/१४ वटा ट्रक भेँडा/च्याङ्ग्रा किनबेच भए”, बोहराले भने, “ यस पटक नयाँ व्यापारी पनि बझाङ्गबाट त्यहाँ पुगेको भेटिए ।” 

उनका असार, साउन महिनामा आफूहरु भेँडा/च्याङ्ग्रा चराउन साइपाल हिमालको पाटन हुँदै चीनको उरै भञ्ज्याङ नाका पारिसम्म वर्षौँदेखि जाने गरेको बताए । “उरै नाका वारितर्फ चीनको गोडोहाल्ना र बैँस भन्ने ठाउँमा हामीहरु हरेक वर्ष भेँडा/च्याङ्ग्रा चराउन जान्छौँ”, उनले भने, “वर्षातपछि हिउँ पर्न सुरु भएपछि तल गाउँतिर झर्छौ ।” साइपाल हिमालको पाटन र चीनको सीमावर्ती भूमिमा भेडा/च्याङ्ग्रा चराउँन जाँदा उतै टेन्टमा बास बस्ने गरेको उनले बताए । “चिनियाँहरु पनि अलि पहिलेसम्म हाम्रो क्षेत्रमा चौँरीगाई चराउन आउथेँ ।” उनले चीनले उरैनाकासम्म आफ्नो भूमिमा यातायात सेवा विस्तार गरिसकेको बताए । 


केही वर्षअघिसम्म डोटीको पेल्या लेकसम्म पनि बझाङ्गबाट भेँडा/च्याङ्ग्रा चराउन आउने गरेको पशुपालक किसानहरुको भनाइ छ । “अहिले सो क्षेत्रमा रहेका सामुदायिक वनहरुले भेडा/च्याङ्ग्रा चराउन गएवापत प्रति भेँडा रु एक सय राजश्व लिने गरेका छन्”, साइपाल गाउँपालिका–३ काँडाका मोहन बोहराले भने, “ भेँडा/च्याङ्ग्रा पालनको व्यवसायमा लाग्ने कृषकलाई राज्यले पनि अनुदान र सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।” 

उनले आफू पनि १ सय १० वटा भेँडा/च्याङ्ग्रा पोखरामा बिक्री गरेर बझाङ्ग फर्किन लागेको बताए । “ पोखरामा बिक्री गर्न एक साता जति समय लाग्यो”, उनले भने, “गाउँमा प्रायः स्थानीयको व्यवसाय भनेकै भेँडा/च्याङ्ग्रा पालन गर्ने हो ।” बझाङ्ग सदरमुकाम चैनपुरबाट साइपाल गाउँपालिका पुग्न दुई दिन पैदल हिँड्नुपर्ने हुन्छ । त्यहाँसम्म पुग्न पैदल गोरेटो बाटो निर्माण भइसकेको साइपाल गाउँपालिकाले जनाएको छ । 

विगत चार वर्षदेखि चाडपर्वका बेला भेँडा/च्याङ्ग्रा खरिद बिक्रीमा स्थानीयहरु सोही गोरेटो बाटो प्रयोग गर्ने गरेका छन । यस पटक स्थानीय किसानहरुले च्याङ्ग्राको तौल हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर पोखरामा रु ३० हजार भन्दा बढी मूल्यमा बिक्री वितरण भएको जनाएका छन । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले त्यहाँका किसानहरुले वार्षिक रु डेढ देखि दुई करोडको भेँडा/च्याङ्ग्रा बिक्री गर्ने गरेको बताए । 

उनले भेँडा/च्याङ्ग्रा पालनमा सक्रिय किसानहरुलाई संघ र प्रदेश सरकारबाट अनुदान वितरण गर्ने विषयमा कुराकानी भइरहेको बताए । सो गाउँपालिकामा जडीबुटीको व्यापार चीनसित हुने गरेको छ । उनले चैनपुर–ताक्लोकोट सडक खण्ड निमार्णाधीन भएपनि कामको गति सुस्त भएको बताए । “हाम्रो गाउँपालिकासित जोडिन अझै २/४ वर्ष लाग्ने देखिन्छ”, उनले भने, “ट्रयाक खोल्ने काम पुस, माघमा हिउँले र वर्षातमा पानीले प्रभावित हुन्छ ।” 

उता चीनले भने उत्तरी नाकाको नेपाल–चीन सीमासम्म सडक सञ्जाल विस्तार गरिसकेको उनले बताए । “पहिले नेपाल–चीन सीमाबाट तीन दिन हिँडेर यो नाकाबाट कैलाश मानसरोवर तीर्थ यात्रामा जान्थे”, अध्यक्ष धामीले भने, “चीनले सीमासम्म सडक ल्याएपछि एक दिनको यात्रामा पुगिन्छ ।” गाउँपालिकाबाट चीनसितको सीमानामा पुग्न तीन/चार दिन लाग्छ । 

स्थानीयलाई मानसरोवर जान गाउँपालिकाको सिफारिसमा चीनले जान अनुमती दिने गरेको छ । “कोरोनाका कारण अहिले यो नाकाबाट आवागमन ठप्प छ”, धामीले भने, “अरु बेला यहाँबाट वार्षिक २/३ हजार तीर्थ यात्रुहरु कैलाश मानसरोवर जाने गरेको रेकर्ड छ ।” रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार