बायर्नको स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि ४–० को सानदार जित ।



प्रकाशित: कार्तिक ६, बिहिबार, एजेन्सी । 
डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि ४–० को सानदार जितसहित सुखद सुरुवात गरेको हो । एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो ।  

एकपक्षीय बनेको खेलको २८औं मिनेटमा किङ्सले कोमानको गोलबाट बायर्नले खेलमा अग्रता लिएको थियो । उनले योसुवा किम्मिखको पासलाई पेनाल्टी बक्समा उत्कृष्ट नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । त्यसअघि २७औं मिनेटमा यान्निक कारास्कोको पासमा लुइस सुआरेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एट्लेटिको अग्रता लिनबाट चुकेको थियो ।

४१औं मिनेटमा लियोन गोरेट्जकाले कोमानको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४५औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको हेडर पोस्टबाट थोरै बाहिरियो । ४७औं मिनेटमा जोआओ फेलिक्सले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा एट्लेटिको बराबरीबाट चुक्यो ।


६४औं मिनेटमा फेलिक्सको पासमा कारास्कोको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । योसुवा किम्मिखको फ्रिकिक रिवाउन्ड भएर आएको बललाई उनले दर्शनीय गोल गरेका थिए । ७२औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए । उनले थोमस मुलरको पासमा मैदानको मध्यभागबाट बल एक्लै अघि बढाउदै दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट फिनिस गरेका थिए ।

यही समूह ‘ए’ को खेलमा अष्ट्रियन क्लब साल्जवर्ग र रसियन क्लब लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यससँगै बायर्न ३ अंक जोडेर शीर्षस्थानमा रहँदा लोकोमोटिभ एक अंकसहित दोस्रो तथा साल्जवर्ग तेस्रो स्थानमा रहेको छ । एट्लेटिको पुछारमा रहेको छ । - एजेन्सी । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial