युभेन्टस र भेरोनाबिचको खेल बराबरीमा टुङ्गियो ।



प्रकाशित: कार्तिक ११, मंगलबार, एजेन्सी  । 
इटालियन च्याम्पियन युभेन्टसले इटालियन सिरी ए मा गरेको कमजोर सुरुवातको सिलसिला आइतबार पनि कायम रहेको छ । घरेलु मैदानमा युभेन्टस हेल्लास भेरोनासँग १-१ को बराबरीमा रोकियो । 

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहँदा टोलीको आक्रमण सम्हालेका स्पेनिस फरवार्ड अल्भारो मोराटाले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । भीएआरको सहायता लिँदा अफसाइड देखिएपछि युभेन्टस अघि बढ्न सकेन । सुरुवाती ४ मध्य २ खेलमा बराबरी खेलेको युभेन्टस ६० औं मिनेटमा पछि पर्यो ।

आन्द्रीए फभिलीले ६० औं मिनेटमा गोल गर्दै भेरोनालाई अग्रता दिलाए । तर डेजान कुलुसेभ्सकीले खेलको ७७ औं मिनेटमा बराबरी गोल फर्काए । मोराटाको पास लिएर उत्कृष्ट मुभ बनाएका उनले आफैं गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए । थप गोल हुन नसक्दा दुवै टोली १-१ अंक बाँड्न पुगे ।


क्रिस्टियानो रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण टोलीबाहिर रहँदा लिगमा युभेन्टसले लगातार दोस्रो खेलमा जित हासिल गर्न सकेन । अघिल्लो साता टोली क्रोटोनेसँग पनि १-१ कै बराबरीमा रोकिएको थियो । आइतबार भेरोनाविरुद्ध पाउलो डिबालाले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

यस बराबरीसँगै लिगमा अपराजित रहेपनि युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । युभेन्टसको ५ खेलमा ९ अंक छ । शीर्षस्थानको एसी मिलानले ४ खेलमा ४ जितसहित १२ अंक जोडेको छ । हेल्लास भेरोना ५ खेलमा ८ अंकसहित आठौं स्थानमा छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार