आज दसैंको आठौं दिन, महाअष्टमी, स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न सरकारको आग्रह


काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैंको आज आठौं दिन महाअष्टमी। देवी दुर्गा भगवतीसहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आज देवी भगवतीको पूजा गरी बलि चढाउने गरिन्छ । विभिन्न शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको बलि दिने प्रचलन छ । पशुबलि नदिनेले भने नरिवल, कुभिण्डो लगायतका फलफूल चढाउने गर्छन्।

घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजा गर्ने गरिन्छ। आजकै दिन घरघरमा रहेका हतियार र कलपूर्जाहरु निकालेर पूजा गर्ने परम्परा समेत रहेको छ।

आज राति हनुमानढोकामा ५४ वटा राँगा र बोकाको बलि दिएर कालरात्री पूजा गर्ने परम्परा रहेको छ।

नवरात्र अन्तर्गत आज महा दुर्गाको आठौं रुप महागौरीको पूजा गरिन्छ। परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजा गर्दा पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने धार्मिक विश्वास रहिआएको छ।

अघिल्ला बर्षहरुमा देशभरका विभिन्न शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनहरुको घुईंचो लाग्ने गरेपनि यस बर्ष त्यस्तो अवस्था छैन ।

कोरोना संक्रमण जोखिम फैलिन सक्ने तथ्यलाई मध्यनजर गर्दै सरकारले शक्तिपीठ तथा मन्दिरहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजामा रोक लगाएको छ ।

त्यसैगरी स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गरी दशैं मनाउन पनि सरकारले आह्वान गरेको छ ।



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार