पोर्टोमाथि सिटिको ३-१ को जित ।



प्रकाशित: कार्तिक ६, बिहिबार, एजेन्सी । 
इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित हात पारेको छ । सिटीले एक गोलले पछि परेको स्थितिमा ३–१ को पूनरागमन जित हात पारेको हो । सिटीको जितमा सर्जियो अगुइरो, इल्काए गुन्डोगान र फेरान टोरेसले गोल गरे । पोर्टाेका लुइस डियाजले गरेको गोल सान्त्वना बन्यो । 

इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा पोर्टाेले खेलको १४औं मिनेटमा लुइस डियाजको गोलबाट अग्रता लिएको थियो । उनले मेटअस युरिवेको पासमा मैदानको मध्यभागबाट बल अघि बढाउदै ५ डिफेन्डरलाई छलाउदै उत्कृयष्ट फिनिस गरेका थिए ।

२०औं मिनेटमा अगुइरोको पेनाल्टी गोलमार्फत सिटी खेलमा फर्कियो । पेपेले रहिम स्ट्रलिङलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा अगुइरो चुकेनन् । २२औं मिनेटमा युरिवे चुक्दा पोर्टाेले पुनः अग्रता लिने अवसर गुमायो ।


६५औं मिनेटमा इल्काए गुन्डोगानले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ७३औं मिनेटमा फेरान टोरेसले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए ।

यही समूह ‘सी’ को अर्काे खेलमा ग्रीसको क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेमाथि १–० को जित निकालेको छ । ओलम्पियाकोसको जितमा एकमेद हसान कोकाले इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गरेका थिए ।

यो नतिजासँगै म्यानचेस्टर सिटी ३ अंक जोडेर शीर्षस्थानमा रहँदा ओलम्पियाकोसको पनि ३ अंक नै रहेपनि दोस्रो स्थानमा रहेको छ । मार्से तेस्रो स्थानमा तथा पोर्टाे पुछारमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार