रियलले बार्सिलोनालाई ३-१ ले हरायो ।



प्रकाशित: कार्तिक ९, आईतबार, एजेन्सी । 
स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार भएको बार्सिलोना विरुद्ध एल क्लासिकोमा जित हासिल गरेको छ । क्याम्प नोउमा भएको खेलमा रियल ३-१ ले विजयी भएको हो । पाहुना टोली रियलले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । युवा मिडफिल्डर फेडे भालभेर्डेले करीम बेन्जेमाको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै राम्रो फिनिस गरेका थिए । तर घरेलु टोली बार्सिलोनाले केहि मिनेटमा नै खेल बराबरीमा ल्यायो ।

आठौं मिनेटमा युवा विंगर अन्सु फातीले खेल बराबर गरे । जोर्डी अल्बाको लो क्रसलाई फातीले पहिलो टचमा नै गोलमा परिणत गरे । त्यसपछि दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।


खेलको ६२ औं मिनेटमा रियलले पुन: अग्रता लियो । रियलका कप्तान सर्जियो रामोसलाई बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र जर्सी तान्दै लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा रामोसको प्रहारलाई गोलरक्षक नेटोले दिशा ठम्याएपनि रोक्न भने सकेनन् ।

खेलको ७६ औं मिनेटमा मेस्सीको फ्रिकिकमा कोर्टुवाले पन्च गरेको बल पेनाल्टी क्षेत्रभित्र नै खस्दा भारानले क्लियर गरेर खतरा टारेका थिए । लगत्तै मेस्सीको फ्रिकिकले पनि वाल पार गर्न नसक्दा रियलको अग्रता कायम रहयो ।

८५ औं मिनेटमा बार्सिलोनाका गोलरक्षक नेटोले दोहोरो बचाउ गर्दै स्कोर २-१ मा कायम राखे । लुकास भाज्केजको क्रसमा टोनी क्रुसको सुरुवाती प्रहार बचाएका नेटोले रिबाउन्डमा क्रुसकै प्रहार विफल  पारे । दोहोरो बचाउ गरेको एक मिनेट नबित्दै नेटोले अर्को उत्कृष्ट बचाउ गरे । भाज्केजले पेनाल्टी क्षेत्रभित्र खोसेको बललाई रामोसतर्फ क्रस गरेपछि अनमार्क रहेका रामोसको प्रहारमा नेटोले उत्कृष्ट बचाउ गरे । तर ९० औं मिनेटमा भने नेटो चुक्न पुगे । पेनाल्टी क्षेत्रभित्र उनले सहज बल बचाउन नसक्दा रोड्रीगोले दिएको पासमा लुका मोड्रीचले आफूलाई सम्हाल्दै सहजै गोल गरे ।

यस जितसँगै रियल म्याड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियलको ६ खेलमा १३ अंक छ । बार्सिलोना भने ५ खेलमा ७ अंक जोड्दै लिग तालिकाको दशौं स्थानमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial