सत्याग्रही डा. केसीका पक्षमा ओर्लिन थाले जनता, कतै रिले अनशन त कतै प्रदर्शन ।


प्रकाशित: असोज २५, आइतबार । 
चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै ठाउँठाउँमा प्रदर्शन हुन थालेका छन् ।

सत्याग्रही डा. गोविन्द केसीको अनसन २७ औ दिनसम्म पुग्दापनि सरकार उदासीन बनेको भन्दै जीवन रक्षा तथा उनले उठाएका ६ बुँदे माग पूरा गर्न दबाबका लागि माइतीघरमा प्रदर्शन भएको छ भने अर्कोतिर नेपालगन्जमा शनिबार रिले अनशन सुरु गरिएको छ ।

नागरिक समाज बाँकेको संयोजनमा जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि डा. केसीको जीवन रक्षा र उनले उठाएका ६ बुदे जायज माग पूरा गर्नुपर्ने दबाबस्वरुप अनशन सुरु गरिएको अधिवक्ता बलबहादुर चन्दले बताएका छन्। चन्दका अनुसार केसीले स्वास्थ्य क्षेत्रमा भएका विकृति, विसंगतिविरुद्ध पटक–पटक अनशन बस्दै आए पनि सरकार उनको माग पूरा गर्न गम्भीर नदेखीएकोले उनलाई समर्थन जनाउँदै आफुहरु अनसन सुरू गरेको बताए।

यसैबीच अनशरनरत डा. केसीको समर्थनमा नुवाकोटका युवाहरुले प्रदर्शन गरेका छन् । शनिबार दिउँसो सदरमुकाम विदुरस्थित लोकतान्त्रिकचोकमा भेला भई उनीहरुले आधा घण्टा प्रदर्शन गरेका हुन। 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी सबै डा. केसीको साथमा', 'जनता माग्छ अस्पताल सरकार दिन्छ भ्युटावर', 'डा केसी व्यक्ति होइनन् राष्ट्रको आवाज हो' जस्ता नारा लगाउदै युवाहरूको प्रदर्शनमा उत्रेका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार