जथाभावी जमराको जुस नपिउं, विष हुन सक्छ ।



प्रकाशित: कार्तिक १२, बुधबार, बिराटनगर ।
नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रकृतिका अर्बुद जस्ता रोगसँगै कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीलाई निकै फाइदा पुग्ने विश्वासका साथ यसको सेवन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो ।

नेपाल आयुर्वेद चिकित्सक विज्ञ डा. प्रकाश ज्ञवाली जमरा जु्सको नियमित सेवनबाट रोग प्रतिरोधी क्षमता बढाउन ठूलो योगदान पुग्ने बताउउँछन्। उनी भन्छन्, “जमरा आफैंमा औषधि नभए पनि जमराको जुस तोकिएको मात्रामा नियमित सेवन गरिए पहिले निको भइसकेको रोग फेरि फर्कने सम्भावना रहन्न । दैनिक सेवन गर्नुपर्ने मात्रा करीब ३० एमएल हो ।”


स्वस्थ र तन्दुरुस्त जीवन पद्धति संसारकै प्राथमिकतामा छ । पानीको फोकाजस्तै लाग्ने लगभग ३७.२ खर्ब कोषबाट मानव शरीर बनेको छ । तिनै कोष स्वस्थ रहेसम्म मानिस तन्दुरुस्त हुन्छ । स्वस्थ मानिसको रगतको पीएच ७.३५ देखि ७.४५ हुन्छ, जुन हल्का क्षारीय हो । शरीरलाई क्षारीय गुण दिन योग्य बनाउन दिनभरिमा खाइने खानामा क्षारीय र अम्लीय खानाको अनुपात ८०:२० प्रतिशतमा राख्नुपर्छ ।

च्याउसरी जताततै खुलेका हेल्दी फुड र ड्रिंकका रूपमा जमराको जुस प्रसिद्ध हुनुको कारण यसको क्षारीय गुण हो । पोषक गुण यसका अतिरिक्त फाइदा मात्र हुन् । पोषक गुण अरू थुप्रै हरिया सागसब्जीमा पनि पाइन्छन् । प्रभावकारी क्षारीय गुण र थोरै मात्रामा भए पनि धेरै प्रकारका पोषक तत्त्व र इन्जाइम भएकाले संसारमा जमरा ‘सुपर–फुड’ भनी चिनिएको हो । 

खाद्य विज्ञानमा खानपानसम्बन्धी सामान्य परम्परा छ— इच्छा लागुन्जेल खाँदा सामान्य मोटाउने या दुब्लाउनेबाहेक अन्य अवगुण हुन्न भने खाना यति नै खानु भनी सीमा नतोक्ने । यो–यो तत्त्व यतिसम्म प्राप्त हुनेगरी तोकिएको क्यालोरी वेरपर हुनेगरी दैनिक खाने कि भनी समय र परिस्थितिअनुरूप न्युट्रिसनल मापदण्ड बनाइदिने ।

जमराको ६० एमएल ताजा जुसमा क्यालोरी ६–१२ किलोक्यालोरी, सोडियम ३–६ मिलिग्राम, कार्बोहाइड्रेट ०.५–१ ग्राम, डाइटरी फाइबर ०.०३–०.०६ ग्राम, चिनी ०.५–१ ग्राम, प्रोटिन ०.६–०.१२ ग्राम पाइएको थियो । भिटामिन ए १२५–२५० आरई, भिटामिन सी १–२ मिलिग्राम, क्याल्सियम ७.२५–१४.५ मिलिग्राम, फस्फोरस २२.५–४५ मिलिग्राम, म्याग्नेसियम ७–१४ मिलिग्राम, जिंक ०.१–०.२ मिलिग्राम, क्याल्सियम ७–१४ मिलिग्राम र आइरन ०.१८–०.३६ मिलिग्राम भेटिएको थियो ।

आयुर्वेदका अनुसार ढंग पुर्‍याएर खाइएको खाना ओखती बन्छ अन्यथा विष । जमराको जुस तोकिएको मात्राभन्दा बढी खादा हानि गर्ने खाद्य सप्लिमेन्टमा पर्छ । तोकिएभन्दा बढी खाँदा जमराको जुसको साइड इफेक्ट निश्चित छ । अनुसन्धान र व्यावहारिक अनुभवले सामान्य मानिसलाई दिनमा ६० एमएलभन्दा बढी जमराको जुस नखान सिफारिस गरिएको छ । दिनमा ३०–३० एमएल दुई पटक वा ६० एमएल मात्र एक पटक । स्वादका लागि केही मह हाली खानु पनि ठीकै मानिन्छ । हेल्दी फुड र ड्रिंक स्टोरहरूलाई मात्र ३० एमएल र ६० एमएल सर्भिङ साइज तोकी बेच्न अनिवार्यजस्तै गरिन्छ ।

जमराको पाउडर, ट्याब्लेट र क्याप्सुल सुपरफुडका रूपमा बजारमा उपलब्ध भएकाले दिनमा बढीमा ३ ग्राम पाउडर बराबर हेल्थ सप्लिमेन्टको सुरक्षित मात्रा तोकिएको छ । सलादका रूपमा बढीमा ५० ग्राम जमरा चपाएर खानु सुरक्षित मानिएको छ । १७ प्रकारका एमिनो एसिड र ८० वटा इन्जाइम पाइने भएकाले कुनै विशेष प्रकारको रोग छ भने डाक्टरको सल्लाहमा जमराको जुस खाने–नखाने निर्धारण गर्नु अनिवार्य हुन्छ । जमरा यसको ९५ प्रतिशत पानी कटाउँदा ७० प्रतिशत क्लोरोफिलको त्यान्द्रो हो ।

क्लोरोफिल एन्टिअक्सिडेन्ट हुने र इन्जाइममा रोग प्रतिरोधात्मक गुण हुने हुँदा यसले शरीरमा क्यान्सरलगायतका विकृतिविरुद्ध इम्युन शक्ति बढाउने भयो । प्रशस्त फाइबर हुने र फाइबरमा धेरै क्लोरोफिल रहनाले जमराको स्प्रेड्राई गरी बनेको पाउडरले समेत एन्टिडाइबिटिक सप्लिमेन्टको काम गर्ने मान्यता छ । यसमा पाइने सेलेनियम (१ पीपीएम प्रति १०० एमएल) र लेट्रिलनिट्रिलोसाइडस (भिटामिन बी १७) मा समेत एन्टिक्यान्सर गुण हुन्छ । क्यान्सर प्रतिरोधात्मक गुण हुने र १३ थरीका भिटामिन (बी १२ समेत) पाइने हुँदा जमरामा थप आकर्षण बढेको हो ।

प्राकृतिक रूपमै उत्कृष्ट भिटामिन–ए ९४२७ आईयू प्रति १०० एमएल, सी ९३।६५ मिलिग्राम प्रति १०० एमएल र ई ९१५।२ आईयू प्रति १०० एमएल को स्रोतका रूपमा जमराको जुसलाई मानिएको छ । भिटामिन ए, सी र ई दिमाग र मुटुको सेल चाँडै बूढो भई पैदा हुने समस्या घटाउन सहयोगी भनिन्छ । जमरामा हुने धेरै प्रकारका इन्जाइम र एमिनो एसिडले शरीरको प्राकृतिक क्लिंजरका रूपमा काम गर्ने र कलेजोमा पुग्ने शरीरलाई हानि हुने हेबी मेटल डिटक्स गरी रगतमार्फत मिर्गौला हुदै फाल्न र तन्दुरुस्त राख्न सहयोग गर्ने अनुसन्धानले पुष्टि गरेको छ ।

५ हजार वर्षपहिले आयुर्वेदिक र इजिप्टियन संस्कृतिमा पेयका रूपमा जमरा चलनचल्तीमा भएको पढ्न पाइए पनि सन् १९३० तिर अमेरिकामा सुपर फुड भनी प्रचारमा आएपछि ३० एमएल हरियो जमराको जुसबाट लगभग १ किलो हरियो सागपात बराबरको पोषण मिल्ने विश्वासमा आकर्षण बढेको देखिन्छ । हरियो जमरा परम्परागत रूपमै पिउदै आईएको प्रख्यात हेल्थ ड्रिंक हो । कुनै रोगको निदान गर्ला कि भनी सम्झेर कसैले जमरा खानु आफ्नै कुरा भए पनि जमराले कुनै रोग निदान गरेको वैज्ञानिक परीक्षणबाट प्रमाणित भएको छैन । अध्ययनले यो रोग लाग्नबाट बचाउने सहयोगी विकल्प भने हो भन्ने देखाएको छ ।

खाध्य गुणस्तर व्यवस्थापन संस्कृति कमजोर भएको मानिने नेपाल, बंगलादेश, पाकिस्तानलगायतका कतिपय देशका एकाध चिकित्सकले हरियो जमराको जुसका कारण आफ्ना बिरामीमा कलेजोको समस्या देखापरेको गुनासो गरेको पाइएको छ । जमराको जुस फाइदाकारी बन्न केही अनिवार्य सर्त छन्— जमरालाई असल कृषि पद्धतिबाट उमारिनु र त्यसबाट बनेको जुस गुड म्यानुफ्याक्चरिङ प्राक्टिसअनुसार पस्कनु । जमरा उमार्न हालिएको माटो, पानी र उमार्न प्रयोग गरिने वातावरण अनिवार्य स्वीकृत मापदण्डभित्र रहेको प्रमाणित हुन जरुरी हुन्छ ।

जमरामा कीराले नबिगारोस् भनी विषादी हालिएको रहेछ भने त्यो कलेजोका लागि शत्रु हुनेछ । दूषित माटो, मल, हावा, पानी प्रयोग गरिएको जमरासमेत स्वास्थ्यका लागि बिष हो । जमरा हाम्रो शरीरमा मूलतस् क्षारीय गुण दिनका लागि खाइन्छ तर उमालेको वा हिट–ट्रिटमेन्ट गरिएको जमरामा क्षारीय गुण नष्ट हुन्छ । जमरा सिधै जुस बनाएर खानेकुरा हो । चिनीले जमराको जुसलाई अम्लीय बनाइदिने हुँदा मात्र थोरै मात्रामा महसँग खाली पेटमै खान भनिएको हो ।

जमरा उमार्न प्रयोग गरिने भाँडा र माटो अनिवार्य पास्चराइज गरिएको, पिउन योग्य पानी सिञ्चित गरी उमारिएको, पास्चराइज मल र भाँडोमा उमारिएको हुनुपर्छ । तयारी जमरा माटोबाट कम्तीमा १ इन्च माथि काटी राम्रोसँग धोएर सफा जुसरबाट बनाइएको र सफा भाँडामा सर्भ गरेर मात्र पिउन विज्ञहरू सल्लाह दिन्छन् । हरियो जमरा त्यति लामो समयसम्म नटिक्ने हुनाले चाँडै बिग्रन्छ । तसर्थ, जुस बनाएको १५ मिनेटभित्र यसलाई पिउन सल्लाह दिइन्छ ।

काटेको हरियो जमरा १ हप्तासम्म फ्रिजमा राखी खान ठीकै मानिए पनि ताजामा जस्तो भरपूर पोषण रहन्न । जमराको जुस क्षारीय गुणको हुने हुँदा जमरा राख्ने, जुस बनाउने ठाउँ, जुसर, सर्भ गर्ने भाँडा आदि परम्परागत फलफूलको जुस बेच्ने पसलभन्दा पनि सफा रहनु जरुरी छ । अन्यथा यसले प्रतिकूल स्वास्थ्य निम्ताउँछ । सहरमा रहेका जमरा र अन्य जुस पसललाई अनिवार्य रूपमा खाद्य गुणस्तर जाँचको मापदण्डमा राखिनुपर्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial