आज दसैंको सातौं दिन, फूलपाती भित्र्याइँदै ।



काठमाडौँ । हिन्दु नेपालीहरुको महान चाड बडा दशैंको सातौ दिन आज देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ।


नेपाल पञ्चाङग निर्णायक समितिले आज बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा चलाउने र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ ।


आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ। देवीको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चनबाट मुक्त भइने धार्मिक विश्वास रहिआएको छ ।



घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ।


नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ।


आजको दिन नै हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर समुदायका ६ जनाले फूलपाती बोकेर ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ६ जना ब्राह्मणहरुले ल्याउने परम्परा रहंंदै आएको छ ।


जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुरुज्युको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने चलन छ ।


तर यसपटक भने कोरोना संक्रमणको जोखिमका कारण चाडवाड मनाउँदा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सरकारले आह्वान गरेको छ भने शक्तिपीठहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजा गर्न रोक लगाएको छ ।


त्यसैगरी यस बर्षको दशैंको टीकाको साइत सोमबार बिहान १० बजेर ११ मिनेटदेखि १० बजेर १९ मिनेट सम्म रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

- नागरिकखबर बाट

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial