कोरोना संक्रमितको शव परिवारले नै अन्त्येष्टि गर्ने गरी यस्तो मापदण्ड तयार ।



प्रकाशित: कार्तिक ४, मंगलवार, काठमाडौँ । 
सरकारले कोरोना संक्रमितको शव परिवारले नै अन्त्येष्टि गर्ने गरी मापदण्ड परिमार्जन गरेको छ ।

पछिल्लो समय धेरै संक्रमितहरूको मृत्यु हुन थालेपछि शव व्यवस्थापनमा कठिनाइ भएको भन्दै स्वास्थ्य मन्त्रालयले परिवारले नै शवको अन्त्येष्टि गर्ने गरी मापदण्ड संशोधन गरेको छ ।यसअघि भने मृत्यु भएका संक्रमितको शव नेपाली सेनाको टोलीले विशेष सतर्कताका साथ व्यवस्थापन गर्दै आएको थियो।

सरकारले परिवारलाई नै संक्रमितको शव अन्त्येष्टि गर्न दिँदा त्यसबाट थप संक्रमण फैलिने जोखिम रहेको कतिपय विज्ञहरूले चेतावनी दिएका छन्।

सावधानी अपनाउन चुके त्यसबाट संक्रमण फैलिने जोखिम रहने भएकाेले परिवारले नै शवको अन्त्येष्टि गरे पनि अनिवार्य मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिएका छन्। शवबाट कोरोना सर्ने यकिन नभए पनि जोखिम भने सधैं रहने उनको तर्क रहेको छ।

डा. पुनका अनुसार संक्रमितको मृत्यु हुनुअघि कहिलेकाहीँ नाकबाट पानी वा र्‍याल बग्ने गर्छ र शवलाई खाली हातले छोएर फेरि हात नाक, मुख र आँखामा लैजाने गर्दा त्यसबाट संक्रमण सर्ने जोखिम हुन्छ त्यसैले शवको अन्त्येष्टिमा सहभागी सबैले अनिवार्य जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनको सुझाव छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शवबाट संक्रमण सर्ने जोखिम रहे पनि विशेष सावधानी अपनाए त्यसबाट संक्रमण नसर्ने दाबी गरेका छन्। त्यसका लागि अनिवार्य मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने उनको भनाइ रहेको छ।

प्रवक्ता गौतमका अनुसार शवले नखोक्ने, शवले ह्याछ्युँ नगर्ने भएकोले सर्ने सम्भावना एकदम कम हुन्छ त्यसैले मास्क, पञ्जा लगाएर र प्लाष्टिकले बेरेर परिवारले नै अन्त्येष्टि गर्ने निर्णय गरिएको हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार