बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन



गलकोट ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ । यसअघि किबीका बिरुवा बागलुङ जिल्ला बाहिरबाट मात्रै आयात गरिन्थ्यो ।


ताराखोला–५ नागीका रतनबहादुर घर्तीले व्यावसायिक रुपमा नै किबी र जडिबुटीका बिरुवा उत्पादन गर्न थालेका छन् । भ्रमणका क्रममा इलाममा किबी र जडिबुटीको बिरुवा उत्पादन गरिएको देखेपछि आफूले पनि बिरुवा उत्पादन थालेको उनको भनाइ छ ।


लामो समयदेखि कृषिमा लागेका घर्ती अब आफैँ किबीका बिरुवा बनाएर बिक्री गर्ने योजनामा छन् । सुरुमा किबी खेती गर्ने भनेर बिरुवा खोज्दाखोज्दै हैरान भएका घर्तीले आफ्नै बारीमा स्थापना गरेको ग्रिन हाउसमा किबीका एक हजार ६ सय बिरुवा उत्पादन गरेका छन् । किबीका बिरुवासँगै उनले बहुमूल्य जडिबुटीका बिरुवासमेत उत्पादन गर्दै आएका छन् ।


“हामी किबीका बिरुवाका लागि रुकुम पुगेका थियौँ, बिरुवा लियौँ तर अब हाम्रो ठाउँका कृषकलाई टाढाटाढा धाउनु पर्दैन”, घर्तीले भने, “अब पुस, माघ र फागुनमा किबीको बिरुवा कलमी गरेपछि बल्ल फल्ने खालको बिरुवा उत्पादन हुन्छ ।” समुद्री सतहदेखि एक पाँच सयदेखि दुई हजार दुई सय उचाइमा निकै राम्रो किबी हुन्छ । ताराखोलाका कृषकले खेती गर्ने उद्देश्यनुरुप लगाए पनि बिरुवाको अभावले सोचे जति बिरुवा लगाउन नपाउँदा निराश भएकाले घर्ती आफैँले बिरुवा उत्पादन गरेका हुन् ।


घर्तीका अनुसार किबीका बिरुवा जिल्लामै पहिलो पटक उत्पादन थालिएको हो । करिब रु दुई लाखको लगानीमा ग्रिन हाउस निर्माण गरी किबीको बिरुवा उत्पादन थालिएको उनले बताए । यस वर्ष मात्रै किबीका बिरुवा बिक्रीबाट झण्डै रु पाँच लाख आम्दानी गर्ने उनको लक्ष्य छ ।


उनले जंगलमा पाइने जडिबुटी तर लोप हुन लागेका सतुवा र बिखमाको बिरुवा र बीउ पनि उत्पादन गरिएको बताए । समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा मात्र यो जडिबुटी हुन्छ । ‘वनमा लोप हुन लागेका जडिबुटीका बीउ र बिरुवा उत्पादन विगत पाँच वर्षदेखि गरेको छु’, उनले भने, ‘अहिले जडिबुटीको संरक्षणमा नलागे भोलिका दिनमा भावी सन्ततिले सतुवा जडिबुटी भन्ने के हो भनेर सोध्ने दिन आउँछ ।’


संकटकालमा गाउँमा बस्ने वातावरण नभएर मलेसिया गएका पचास वर्षीय घर्ती तीन वर्षमै आफ्नै देश फर्केर व्यावसायिक कृषि पेशामा लागेको बताउँछन् । उनी विदेश जाँदा लागेको ऋणसमेत नतिरी फर्केर आफ्नो गाउँमा कृिष व्यवसाय गर्ने उद्देश्य बोकेर आए पनि त्यस समयमा गाउँमा के गर्ने र कसरी गर्ने भन्ने थाहा नै नभई भैँसी र बाख्रा पालेर बसेका छन् । गाउँपालिकाले आफूहरुलाई कृषि अवलोकन भ्रमण गराएपछि व्यवसायी बन्न सिकेको घर्तीको भनाइ छ ।

उनले अहिले आफ्नै घरमा टमाटर, खुर्सानी, काउली, बन्दा, उखु, फर्सी, आलु आदि खेती गर्दै आएका छन् ।

ताराखोला घुम्टेको वनमा १ सय ५० भन्दा बढी जडिबुटी पाइए तापनि उचित रुपमा पहिचान, संरक्षण तथा निकासी नहुँदा जंगलमै कुहिएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताए । उनका अनुसार जडिबुटीको वैज्ञानिक रुपमा बीउ उत्पादन गरी पकेट तथा ब्लक बनाएर व्यावसायिक उत्पादन गरे मात्र आम्दानी हुन सक्छ । अहिले ताराखेलाको साविक १,७ र ८ नम्बर वडालाई जुल्फे किबी पकेट क्षेत्र भनेरसमेत कृषि ज्ञानकेन्द्र पर्वतले सूचीकृत गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial