तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटक ओइरिए


तनहुँ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि पछिल्लो समय तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटकहरुको घुँइचो लागेको छ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा रहेको मानहुँकोटमा दशैंयता आन्तरिक पर्यटकहरुको घुँईचो लागेको हो ।

ब्यास नगरपालिका ५ मा रहेको मानहुँकोटबाट सूर्योदय र सूर्यास्तको दृष्य हेर्न पाइन्छ । त्यस्तै कुहिरोले ढाकेको तनहुँ सदरमुकाम दमौली बजारको दृष्य पनि देख्न सकिन्छ । यसका साथै हिमशृङ्खला, मादी र सेती नदीको दृश्य पनि देख्न सकिन्छ ।

दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गरेका छन । तर शनिबार १० हजारभन्दा बढी पर्यटक मानहुँकोट पुगेका छन् । मेला महोत्सवको आयोजना गरिए जस्तै डाँडैभरि पर्यटकको ताँती लागेको थियो ।

यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम भएको थियो । चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ ।

समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट ‘कोरोना फ्रि जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ ।

घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन ।

तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक आएका हुन । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial