
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज सकिएको छ । नेकपाभित्रको विवादकाबीच सुरु भएको बैठक झण्डै आधा घन्टामै सकियो । बैठकले अर्को बैठकको मिति तय गरेको छ । अब नेकपा सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने भएको छ ।
आजको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको थियो । अन्य नेताहरुभन्दा झण्डै १५ मिनेट ढिलागरी बैठकस्थलमा पुगेका प्रधानमन्त्री ओलीले आजको बैठकमा एक मिनेट पनि नबोलेको एक सचिवालय सदस्यले बताए ।
बैठकमा के के भयो ?
बैठकको सुरुवात महासचिव विष्णु पौडेलले गरेका थिए । उनले सुरुमा ‘स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक समस्या त होला ? आजको छलफलको विषय ?’ भनेका थिए ।
त्यसपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले थोरै भूमिका राखेर लिखितरुपमा पार्टीमा देखिएको संकट र त्यसको निकास सम्बन्धि प्रस्तावसहित अन्तर पार्टी निर्देशन, स्थायी कमिटी बैठकको निर्णय, ओली-प्रचण्डले आरोप प्रत्यारोप गरेका पत्र र बैठकका एजेण्डा सबैलाई वितरण गरेका थिए ।
प्रचण्डले यी समग्र विषयमा सचिवालयमा छलफल गर्ने कि स्थायी कमिटीमा लैजाने भन्ने विषयमा सबैको राय माग्ने प्रयास गर्दै थिए । त्यहीँबीचमा ओलीले थोरैमात्र धारणा राखेका एक सचिवालय सदस्यले जानकारी दिए ।
बैठकमा ओलीले भने, ‘सचिवालयमा आएका एजेण्डा सविचालयमा छलफल नगरी कसरी स्थायी कमिटीमा जाने ?’ ओलीको यो कुरा सुनेपछि सबैको सहमतिमै मंसिर ३ गते दिउँसो १ बजेका लागि सचिवालयको अर्को बैठक राखिएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :