नेकपा विवाद समाधानका लागि शीर्ष नेताको दौडधुप, प्रचण्डलाई बालुवाटारबाट ओलीको निम्तो


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समाधानका लागि शीर्ष नेताको दौडधुप जारी छ। मंगलबार बिहानै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणाजी श्रेष्ठले छलफल गरेका छन्। प्रचण्ड निवास बाहिर भएको भेटमा सचिवालय बैठकको तयारीका विषयमा छलफल भएको स्रोतको दाबी छ।

शीर्ष तीन नेताको भेटपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर खुमलटार पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग प्रचण्डले भेट गरेका छन्।

स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेल पछिल्लो समय प्रधानमन्त्री ओलीको तर्फबाट पार्टी विवादका छलफलमा सक्रिय हुँदै आएका छन्।

प्रचण्डसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर सचिवालय बैठक बोलाउने वातावरण तयार गर्न आग्रह गरेका छन्। अध्यक्ष प्रचण्डले भने पार्टी भित्रको समस्या समाधानका लागि नै सचिवालय बैठक आवश्यक बोलाउने तयारी गरेको बताएका छन्।

सकेसम्म सहमति गरेर अगाडि बढ्नुपर्ने धारणा पोखरेलले राखेका छन्। प्रधानमन्त्रीको सन्देश बोकेर खुमलटार पुगेर पोखरेल फर्किएको केही घण्टामै प्रचण्डलाई प्रधानमन्त्रीले भेटका लागि बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री ओलीलाई प्रचण्डसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमसहित पाँच नेताले कात्तिक २२ गते दुई पन्ने लिखित पत्र बुझाएका थिए।

उता प्रधानमन्त्री ओलीले भने विधान बमोजिम सचिवालय बैठक बोलाउने भन्दै महासचिव विष्णुप्रसाद पौडेललाई सोमबार प्रचण्डसमक्ष सन्देश पठाएका थिए।

पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्रीले बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्डले केही बेरमै सचिवालय बैठक बोलाउने तयारी गरेका हुन्। सचिवालय बैठकको औपचारिक जानकारी नेतासम्म पुग्न नपाउँदै ओलीले प्रचण्डलाई बालुवाटारमा निम्तो गरेका हुन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial