‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देश


काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले नेपालको औपचारिक नामका सम्वन्धमा मन्त्रिपरिषद्को पछिल्लो निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देश गरेको छ ।

सरकारको निर्णयबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग जानकारी लिएपछि समितिको सोमबार बैठकले उक्त निर्देशन दिएको हो । बैठकपछि रासससँग कुरा गर्दै सभापति शशी श्रेष्ठले भनिन्, ‘सरकारको पछिल्लो निर्णयले अन्यौलता, अविश्वास, आशङ्का उत्पन्न गरेको हुँदा ‘नेपाल’ मात्रै लेख्न पर्ने आवश्यकता र औचित्यताको पुष्टि नहुन्जेल उक्त निर्णय कार्यान्वयन नगर्नुस् भनिएको हो ।’

सो अवसरमा मन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको स्पष्ट पारे । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको शासन प्रणाली हो । नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन ।’

यसअघि बैठकमा सदस्यहरुले उक्त निर्णयलाई पुरानो राजनीतिक प्रणालीका पक्षधरले हौसल्लापूर्णरुपमा स्वागत र समर्थन गर्नुले गणतन्त्रका लागि बलिदान दिने निराश हुनु पर्ने हो कि भन्ने आशङ्का पैदा गरेकाले सो निर्णय कार्यान्वयन नगर्न सल्लाह दिनु उचित हुने सुझाव दिए ।

राजनीतिक दलहरुबीच अविश्वास बढी रहेकै बेला सरकारबाट भएको उक्त निर्णयले आमजनतामा संशय उत्पन्न गरेको उनिहरुको भनाइ थियो । मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम नेपाल मात्र लेख्ने निर्णय गरेपछि समितिले त्यसबारे परराष्ट्रमन्त्रीसगँ जानकारी माग गरको हो । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial