एजेन्सी । कोरोना भाइरस संक्रमणको निदानका लागि बनिरहेको एक खोपले मानिसमा ९० प्रतिशत सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणबाट खुलासा भएको छ ।
फाइजर र बायोटेकले बनाएको खोपले मानिसमा ९० प्रतिशतसम्म कारोना संक्रमण रोक्ने तथ्य पत्ता लागेको हो । कम्पनीले यो उपलब्धीलाई ‘विज्ञान र मानवताका लागि महान् दिन’ भएको बताएको छ ।
कम्पनीले यस महिनाको अन्त्यसम्म खोपको प्रयोगको लागि अनुमति पाउन आपतकालीन आवेदन दिने जनाएको छ ।
यो खोपलाई उत्कृष्ट उपचारकासाथै भाइरसविरुद्धको लडाइँमा सबैभन्दा ठूलो हतियार मानिएको छ ।
यो खोपलाई अहिलेसम्म ६ देशका ४३ हजार पाँच सय जनामा परीक्षण गरिएको छ । स्वास्थ्य सुरक्षालाई लिएर कुनै खराब असर नदेखिएको कम्पनीले बताएको छ ।
विश्वभर दर्जनौँ खोपका अन्तिम परीक्षण अर्थत ‘फेज थ्री ट्रायल’ मा खास परिणाम देखिएको यो पहिलो खोप हो ।
शरीरको रोग प्रतिरोधी क्षमता भाइरससँग लड्न तयार बनाउन भाइरसको जेनेटिक कोडलाई शरीरमा इन्जेक्ट गराउने सिद्यान्तमा यो खोप आधारित छ ।
यसअघि भएको परीक्षणमा कोरोना भाइरसविरुद्ध लड्नका लागि खोपले शरीरमा एन्टिबडी बनाउने र रोग प्रतिरोधी प्रणालीको एक अर्को हिस्सा निर्माण गर्ने तथ्य पत्ता लागेको थियो, जसलाई टी–सेल भनिन्छ ।
यो खोपलाई तीन हप्ताभित्र दुई मात्रा लगाउनुपर्छ । अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र मानिसहरुमा भाइरसको प्रतिरक्षात्मक प्रणाली विकास भएको भेटिएको छ ।
फाइजरले यस वर्षको अन्त्यसम्म यो खोपको पाँच करोड डोज उपलब्ध गराउन सक्ने बताएको छ । त्यस्तै सन् २०२१ को अन्त्यसम्म १ दशमलव ३ अर्ब डोज तयार हुन सक्ने आशा व्यक्त गरेको छ ।
तर यो खोपको भण्डारणलाई लिएर केही प्राविधिक चुनौतीहरु पनि रहेका छन । यसलाई माइनस ८० डिग्री सेल्यिसभित्रको तापक्रममा राख्नुपर्ने बिबिसीले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :