जटिल संक्रमितलाई बेड पाउनै मुस्किल



काठमाडौं, कात्तिक १६ –  गत साता कोरोना संक्रमित पोखरा–१५ कि ५२ वर्षीया महिलालाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने भयो । आर्थिक अवस्था कमजोर रहेकी ती महिलालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइयो ।

कोभिड–१९ उपचार केन्द्र रहेको अस्पतालले आईसीयू बेड नभएको भन्दै फर्काउन खोज्यो । वडाध्यक्षको सिफारिसमा बल्लतल्ल बेड मिल्यो । आईसीयूमा राखेको तेस्रो दिन उनको निधन भयो ।

कोरोनाको ‘हटस्पट’ बन्दै गइरहेको पोखरामा जटिल अवस्थाका संक्रमितलाई राख्न आईसीयू र भेन्टिलेटरको अभाव भएको छ । कास्कीमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ६ सय नाघेको छ । तर जिल्लाभर सञ्चालनमा रहेको कोभिड विशेष अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आईसीयू बेड १० वटा र भेन्टिलेटर दुइटा मात्रै छन् । गण्डकी प्रदेशमा शुक्रबार सबैभन्दा धेरै २ सय ६९ जनामा कोरोना संक्रमण देखिँदा १ सय ८३ जना कास्कीका मात्रै थिए । पोखरा–१५ मा यो साता कोरोना संक्रमणबाट श्रीमान् र श्रीमतीले ज्यान गुमाए । कोरोना संक्रमित ८१ वर्षीय पुरुषको शुक्रबार पोखरा नयाँगाउँको घरमै मृत्यु भयो । कोरोनाबाट श्रीमतीको मृत्यु भएको ४ दिनपछि उनको मृत्यु भएको हो ।

प्रदेशले पोखराको लेखनाथमा सञ्चालन गरेको सरुवा रोग तथा संक्रामक अस्पतालमा आईसीयू नै सुरु हुन सकेको छैन । आईसीयूका सामग्री र भेन्टिलेटर भए पनि जनशक्ति अभावमा थन्किएर बसेका छन् । कोरोना संक्रमितको उपचार गर्ने भनेर खोलिएकै अस्पतालमा आईसीयू छैन । अस्पतालले हाल ४८ बेडको आइसोलेसन चलाएको छ ।

मेडिकल कलेज सञ्चालन गरेका मणिपाल, चरक मेमोरियल र गण्डकी मेडिकल कलेज (जीएमसी) मा जटिल अवस्थाका संक्रमितले आईसीयू पाउनै गाह्रो छ । पाइहाले पनि ती अस्पतालले चर्को शुल्क असुल्छन् ।

जीएमसीमा आइसोलेसनमा बस्ने संक्रमितले सुरुमै ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ । भेन्टिलेटरमा राख्नुपर्ने बिरामी भए एक लाख रुपैयाँ धरौटी सुरुमै बुझाउनुपर्छ । दिनको २५ हजार रुपैयाँ संक्रमितले बेहोर्नुपर्छ । चरक मेमोरियल अस्पतालमा समेत बिरामीले एक लाख रुपैयाँ धरौटी बुझाउनुपर्छ । आइसोलेसनको शुल्क दैनिक १५ हजार र भेन्टिलेटरसहितको शुल्क दैनिक २० हजार रुपैयाँ लाग्छ । हाल अस्पतालको आईसीयू भरिएको छ । प्रदेश सरकारले बेहोर्ने भनेपछि संघअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संक्रमितको उपचार खर्च लिएको छैन । अस्पतालका निर्देशक डा.अर्जुन आचार्य प्रदेशले खर्च बेहोर्नेमा विश्वस्त छैनन् । ‘पहिला पनि स्वास्थ्यकर्मीलाई २५ प्रतिशत थप जोखिम भत्ता दिने भनिएको थियो, त्यो पाइएको छैन,’ उनले भने, ‘अहिले पनि संक्रमितको खर्च बेहोर्ने भनेको छ, खै के हुन्छ ।’

पोखरा महानगरपालिकाले मालेपाटनको कृषि तालिम केन्द्रमा ४६ बेडको आइसोलेसन चलाएको छ । संक्रमितले उक्त आइसोलेन भरिएको छ । भरतपोखरीमा ५५ बेडको आइसोलेसन भने खाली छ । हाल क्वारेन्टाइन रहेको ७० बेडको लेकसिटी अस्पतालको भवनलाई आइसोलेसन बनाउने तयारी रहेको महानगरका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए । ती कुनैमा आईसीयू छैनन् । ‘स्थानीय तहसँग आईसीयू सञ्चालन गर्न सक्ने क्षमता हुँदैन,’ उनले भने, ‘क्षमताभन्दा माथि गएर हुँदैन ।’

गण्डकी प्रदेशमै पछिल्लो दुई सातायता कोरोना संक्रमितको संख्या बढिरहेको छ । संक्रमित संख्या ७ हजार नाघ्दा सक्रिय संक्रमित ३ हजारभन्दा बढी छन् । तर प्रदेशभरि भएको आईसीयू बेड संख्या १ सय ७६ र भेन्टिलेटर ५७ मात्रै हो । हालसम्म पूर्वी नवलपरासीका ३, कास्कीका २ र पर्वतका १ गरी ६ संक्रमितले घरमै ज्यान गुमाएका छन् । प्रदेशमा कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको गतिसमेत निकै सुस्त छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्मा भने गण्डकी प्रदेशले कोरोना नियन्त्रणमा धेरै काम गरेको एकोहोरो दाबी गरिरहन्छन् । भन्छन्, ‘कोभिडको सन्दर्भमा गण्डकी प्रदेश सरकारको तयारीको हिसाबले क्वारेन्टाइन, आइसोलेसन, ल्याब, जनशक्ति, प्रविधिमा अरूभन्दा अगाडि छ ।’

यद्यपि अन्य प्रदेशमा ३० वटासम्म पीसीआर मेसिन हुँदा गण्डकीमा ४ वटा मात्रै छन् । हाल प्रदेश ल्याबमा रहेका २, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको १ र पोखराको निजी प्रयोगशालामा रहेको १ पीसीआर मेसिनबाट मात्रै परीक्षण भइरहेको छ । पूर्वी नवलपरासीमा रहेको एक पीसीआर मेसिन सञ्चालन नै हुन सकेको छैन । प्रदेशभरि १ हजार ५ सय ५० जना होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहेर चिकित्सकसँग सम्पर्क गर्न नसकेका संक्रमितलाई जटिलता आउन सक्ने निर्देशक डा.शर्माले स्विकारे । कतिपय निजी अस्पतालले बेड भएर पनि नभएको भनेको भए अनुगमन गर्ने उनले बताए । ‘अहिले जटिल अवस्था छ,’ उनले भने, ‘कोभिडलाई खेलाँचीको हिसाबले लिनुहुन्न ।’

प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन यति धेरै संक्रमित बढ्ने आकलन नै नगरेको बताउँछिन् । प्रदेशले भेन्टिलेटर खरिद सम्झौता गरिसके पनि प्रक्रियागत रूपमा आउन ढिला भएको दाबी उनको छ । संक्रमित नबढ्ने अनुमानकै कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ४० बेड आईसीयू मात्रै बनाउने र लेखनाथको अस्पतालमा साधारण संक्रमितलाई मात्रै राख्ने तयारी गरेको उनले सुनाइन् । ‘यति धेरै मान्छे बिरामी होलान् भन्ने आकलन नै गरेनौं,’ उनले भनिन्, ‘दसैंको माहोलमा धेरै बढ्यो । काम गरेर पनि प्रतिफल पाइएन ।’

– कान्तिपुर दैनिक

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार