अमेरिकी निर्वाचन : जोर्जियामा हातैले पुन: मतगणना गरिँदै


चितवनः राष्ट्रपति निर्वाचन जो बाइडनले प्रतिस्पर्धी डोनाल्ड ट्रम्पलाई झिनो मतले उछिनेको जोर्जिया राज्यमा पुनः मत गणना गरिने भएको छ। ट्रम्प र राष्ट्रपतिमा निर्वाचित बाइडनबीच करिब १४,००० मतको अन्तर रहेको यो राज्यमा हातैले पुनः मत गणना गरिने भएको छ ।

दुई उम्मेद्वारबीच निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी दिएको थियो । ट्रम्पको चुनावी अभियान समूहले हातले नै मत गन्न अनुरोध गरेकोले यहाँको पुनः मतगणनाको विषयलाई महत्वपूर्ण मानिएको छ ।

ट्रम्पको रिपब्लिकन पार्टीका तर्फबाट जोर्जियामा चुनावी अभियानको नेतृत्व गरिरहेका डग कोलिन्सले सञ्चारकर्मीलाई यसरी हातैले पुनः मतगणना गरिने विषयलाई निष्ठा र पारदर्शिताको जित भएको बताएका छन् । ट्रम्प समूहले प्रत्येक भोटको जाँच गरिने बताएको छ । नोभेम्बर २० तारिख सम्म पुनः मतगणना सकिने अपेक्षा गरिएको छ ।

निर्वाचन अधिकृत ग्याब्रीएल स्टेरलीङ्गले पुनः मतगणनाबाट दोहोर्‍याएर मतदान गरेको वा मतदानका लागि दर्ता नभएको पत्ता लाग्ने बताएका छन्।

यस्तो छ मत गणनाको नियम
अमेरिकामा पुनः मतगणनाका लागि प्रत्येक राज्यको आफ्नै नियम हुने भए पनि सामान्यतया भोटलाई पुनः मिलान र स्क्यान गर्ने गरिन्छ । कही विद्युतीय उपकरणको वैधता सुनिश्चित गर्न निश्चित संख्याका मत हातले गन्ने पनि गरिन्छ।

अमेरिकामा मतको परिणाममा दोहोर्‍याएर गरिएका मत गणनाले खासै परिवर्तन भने ल्याएको देखिँदैन । यदि पुनः गणनामा बाइडनले जोर्जियामा हार बेहोरे पनि उनीसँग २७० भन्दा बढी इलेक्टोरल मत कायम रहनेछ । पुनः मतगणनाका लागि ट्रम्प समूहले विस्कन्सिन राज्यमा पनि पुनः मतगणनाको माग गर्ने बताएको थियो।

बीबीसीका अनुसार कोलम्बिया युनिभर्सिटी ल स्कुलका प्राध्यापक रिचर्ड ब्रीफ्ल्टले सन् २०१६ मा पनि विस्कन्सिनमा दोहोर्‍याएर मत गणना गरिएको र त्यसले केही सय भोटमा मात्रै अन्तर देखाएको बताएका छन् ।

निर्वाचनमा हार नमानेको र कानुनी लडाइँ लड्ने बताइरहेका ट्रम्पका अभिव्यक्तिलाई लिएर जो बाइडनले भने डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने प्रतिक्रिया दिएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार