तिहारको कोसेली ग्याँस र चुल्हो : स्थानीयवासी खुशी


जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ ले तिहारको अवसर पारेर कोसेली स्वरुप पाँच सयभन्दा बढी महिलालाई खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ ।

दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि उनीहरु खुशी समेत भएका छन् । गरिबी र विपन्नताका कारण वर्षौँदेखि दाउरा खोजेर माटाको चुलोमा आगो बाल्ने र भाँडा बसाल्ने काम गर्दै आएका जलेश्वर नगरपालिका–८ का महिलाले वडा कार्यालयबाट निःशुल्क रुपमा ग्याँस र चुल्हो कोसेली स्वरुप पाएपछि उनीहरुको दैनिकी फेरिएको छ ।

दाउरा र गुईठा बाल्दा उत्पन्न हुने धुवाँले उनीहरुका भकभती पोलेका आँखा र आगोको रन्कोले अध्यारो भएका अनुहार मात्र बदलिएका छैन उज्याला मन र साग्ला आँखाले सहज जीवन बाँच्ने आशा समेत पलाएको स्थानीयवासी सोभिात देवीले बताइन् ।

धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि गरिब, विपन्न र निम्न आय भएका महिलालाई निःशुल्क रुपमा खाना पकाउने ग्याँस र चुल्हो वितरण गरिएको वडाध्यक्ष बिजय कुमार सिंहले बताए । ग्यास सिलिन्डर तथा चुलो निःशुल्क पाएपछि आफूहरुको दैनिकी फेरिएको स्थानीयवासी उर्मिला देवीको भनाइ छ ।

वडा कार्यालयले यहाँका ५२१ घरपरिवारका महिलालाई निःशुल्क रुपमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । दाउराबाट निस्केको धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोगलगायत रोग लाग्ने सम्भावना बढी हुने भएकाले विशेषगरी भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई ध्यानमा राखेर खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको वडाध्यक्ष सिंहको भनाइ छ । यो कार्यक्रमले स्वस्थ्य समाज निर्माणका लागि स्वस्थ्य गृहिणी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सर्वसाधारणको स्वास्थ्यसित मात्र नभई समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न समस्याबाट बचाउने हुनाले यो अभियान सञ्चालन गरेको वडाध्यक्ष सिंहको भनाइ छ ।

विपन्नताको कारण अहिलेसम्म वन जङ्गलबाट दाउरा, अर्काको खेतबारीको पात र खोला किनारको झारबाट दाउरा बाल्दै आएकी राजवती देवी छिमेकीहरूजस्तो आजैदेखि ग्याँस चुल्होमा खाना पकाउन पाएपछि खुशी देखिएकी छन् । उनी मात्र होइन, उनीजस्तै वडाका पाँच सयभन्दा बढी महिलाले ग्याँस चुल्होमा खाना पकाउन थालेपछि स्वास्थ्य, समय र श्रम सबैको बचत भएकोमा निक्कै खुशी देखिएकी छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार