पाँचथर । संरचना नहुँदा जिल्ला कारागारमा ल्याइने नयाँ कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ ।
कोभिड–१९ सङ्क्रमण परीक्षण नगरी नयाँ कैदीबन्दीलाई अन्यसँग राख्न नमिल्ने भएपछि अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीलाई छुट्टै राख्न आवश्यक पर्ने संरचना पर्याप्त नहुँदा कारागार प्रशासनलाई समस्या परेको हो ।
कारागारभित्र सङ्क्रमण फैलनसक्ने खतरालाई दृष्टिगत गर्दै कारागार चलान भएका सबै नयाँ कैदीबन्दीलाई कम्तिमा दुई साता अन्य कैदीबन्दीभन्दा अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीका लागि आवास, खाना, सरसफाइलगायत दैनिक क्रियाकलापका लागि अलग्गै व्यवस्थापनमा आर्थिक र भौतिक संरचना अभाव रहेको जिल्ला कारागार कार्यालयका प्रमुख (जेलर) सुरेन्द्रबहादुर मुखियाको भनाइ छ ।
नयाँ आउने कैदीबन्दीलाई क्वारेन्टिनका रुपमा कारागार प्रशासनसँगै कोठा व्यवस्थापन गरी राख्ने गरिएको छ । संरचना अभाव भएपछि कारागार प्रशासनले प्रशासनिक कक्ष, भण्डार, सुरक्षाकर्मी बस्ने कोठालगायतलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने तथा कर्मचारी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सामग्रीहरुको आलोपालो प्रयोग भइरहेको जेलर मुखियाले बताए । रासस
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :