सिकारी सक्रिय, निकुञ्ज निष्क्रिय, चार महिनामा १४ गैंडा मृत


काठमाडौं, कात्तिक २८ – साउनयता चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएका १४ गैंडामध्ये चारवटा मारिएको पुष्टि भयो तर निकुञ्जले घटनामा संलग्नको भेउसम्म पाउन सकेको छैन ।

– निकुञ्जद्वारा अध्ययन समिति गठन, बासस्थल र आहारामा केन्द्रित भएर काम गर्न सुझाव
– सेना र निकुञ्ज कर्मचारीको गस्ती बढाइयो
– गैंडाको बढ्दो मृत्युदर नियन्त्रण गर्न मन्त्रालयले थाल्यो विज्ञ र सरोकारवालाबीच छलफल
– विज्ञ भन्छन्– संरक्षण प्रणालीमै समस्या छ

कोरोना महामारीमा दुर्लभ वन्यजन्तुको चोरीसिकार बढ्न सक्ने आकलन सत्य सावित भएको छ । गत भदौमा चितवन राष्ट्रिय निकुञ्जभित्र गोली चलेको आवाज सुनिए पनि तस्करले त्यसभन्दा पहिल्यैदेखि निकुञ्ज छिरेर गैंडा मारेको देखिएको छ ।

कोरोना महामारी बढेपछि भएको लकडाउनसँगै तस्कर सक्रिय भएर निकुञ्जभित्र सिकारी परिचालन गरेको खुले पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

भदौ १६ मा निकुञ्जको पश्चिम क्षेत्रमा गोली चलेको आवाज सुनियो । खोज्दै जाँदा पाँच दिनपछि गोली लागेर मरेको एउटा गैंडा भेटियो । त्यही क्षेत्रमा हालसालै खागविहीन तीनवटा गैंडा मृत भेटिए । यो आर्थिक वर्षको साउनयता निकुञ्जमा १४ वटा मृत गैंडा फेला परेका छन्, जसमध्ये चारवटालाई सिकारीले गोली हानेर मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । ‘कात्तिक २१ मा एउटा खागविहीन मृत गैंडाको कंकाल भेटियो, निकुञ्जको पश्चिम क्षेत्र भुसहरघाट नजिक भेटिएको उक्त गैंडालाई करिब ५–६ महिनाअघि नै मारेर खाग लगेको देखिन्छ,’ उनले भने ।

लकडाउनको सुरुवाती अवस्था वैशाख–जेठतिर नै तस्करले उक्त गैंडा मारेको अनुमान छ तर निकुञ्जले कुनै सुइँको पाएन । गैंडा सडे–गलेर झन्डै विलीन हुने अवस्थामा पुगेपछि मात्रै भेटिएको थियो । भदौ १६ मा गोली चलेको आवाज सुनेपछि मात्रै निकुञ्जको सक्रियता बढेको हो तर त्यो बेला मरेका गैंडा पनि बल्ल भेटिन थालेका छन् ।

निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको लौखानी पोस्टनजिक बाँदरझुला टापुमा गोलीको आवाज आएपछि निकुञ्जले खोजी सुरु गरेको थियो । सेना र प्रशासनले पाँच दिन खोजेपछि भदौ २१ मा टाउकामा गोली लागेर मरेको गैंडा फेला पारेका थिए तर खाग भने सुरक्षित नै थियो ।

उक्त क्षेत्रनजिक पर्ने नारायणी नदीको टापु मर्दी घोलमा कात्तिक १९ मा गैंडाका माउबच्चा मृत भेटिए । माउ २०/२५ वर्षको र बच्चा लगभग तीन वर्षजतिको थियो । दुवै गैंडाको खाग थिएन । टाउकामा गोलीको घाउ थियो । त्यसैले उनीहरूलाई तस्करले नै मारेको पक्का भयो । ती माउबच्चालाई दुई महिनाअघि मारिएको अनुमान छ अर्थात् भदौ १६ मा गोली चलेकै बेला उनीहरू मारिएका हुन सक्छन् ।

भदौ २१ देखि कात्तिक २१ सम्म तस्करले मारेका चारवटा गैंडा भेटिए तर यी घटनामा संलग्न अहिलेसम्म कोही फेला परेका छैनन् । चितवन निकुञ्जको आधिकारिक विवरणहरूलाई आधार मान्दा २०७३ चैत २६ यता चोरीसिकारीले गैंडा मारेका थिएनन् । लगभग साढे तीन वर्षपछि गैंडा चोरीसिकार सुरु हुँदा निकुञ्जले घटनामा संलग्नको भेउ पाउन सकेको छैन । तस्करहरू सक्रिय मात्रै होइन, निस्फिक्री देखिएका छन् ।

चारवटा गैंडा मार्ने एउटै समूह थियो वा फरक भन्ने निक्र्योल पनि हुन सकेको छैन । ‘कात्तिक २१ मा भेटिएको गैंडा निकै पहिल्यै मारेको हुँदा भदौको घटनामा त्यो समूह संलग्न नरहेको हुन सक्छ । बरु भदौ २१ मा मृत भेटिएको र कात्तिक १९ मा मृत भेटिएका माउबच्चा मार्ने एउटै समूह हुन सक्छ,’ प्रमुख संरक्षण अधिकृत बरालले भने । उनका अनुसार मृत गैंडाको शरीरमा गोलीको चोट देखिए पनि गोली भेटिएन । यसले गर्दा संलग्न व्यक्ति पत्ता लगाउन गाह्रो भएको छ ।

चितवन निकुञ्जमा कार्यरत रहँदा चोरीसिकारविरुद्ध सक्रिय रहेका अवकाशप्राप्त पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर गैंडा सिकारमा तीनवटा समूह सक्रिय हुने गरेको बताउँछन् । ती तीनवटै समूहले फरक–फरकखाले हतियार प्रयोग गर्छन् । गोली भेटिएको भए कुन हतियार प्रयोग भयो भन्ने खुल्ने र समूहको पहिचान गर्न सजिलो हुने कुँवरले बताए । गोली नै नभेटिँदा निकुञ्ज प्रशासन रनभुल्ल छ ।

कुँवरका अनुसार निकुञ्जको पश्चिम क्षेत्रमा हरेक खाले संकटको समयमा तस्कर र सिकारी सक्रिय हुन्छन् । भारतबाट समेत त्यता आएर गैंडा मारेर खाग लैजाने गरेको भेटिएको छ । भारतीयहरूले त्यो क्षेत्रमा गैंडा मार्दा निकुञ्ज बेखबर रहने गरेको यसअघि पनि देखिएको थियो । चितवन जिल्ला अदालतले गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा २०७५ मंसिर ११ मा दुई जनालाई सजाय सुनायो । त्यो बेला भारत बिहारको पश्चिम चम्पारण गोबरहिया दोनका ४० वर्षीय छठु महतोलाई सात वर्ष कैद तोकिएको थियो ।

त्यसैगरी, चितवन माडीका रामा महतोलाई पाँच लाख रुपैयाँ जरिवाना भयो । २०७३ जेठमा गैंडा मारेको मुद्दामा उनीहरूलाई यो सजाय भएको हो तर चितवन निकुञ्जले दिने गरेको आधिकारिक विवरणमा यो मितिमा गैंडा मरेको देखिँदैन । यो क्षेत्रमा तस्करले गैंडा मार्दा निकुञ्जले सुइँको समेत नपाउने अवस्था छ । छठु निकुञ्जभित्र समातिएका थिए । त्यो बेला मारेको गैंडा देखाउन उनी आफैं गएका थिए ।

‘अहिले पनि खोजबिन गर्दै जाँदा धमाधम मरेका गैंडा भेटिएका हुन्, तस्करले मारेका गैंडाको पुराना कंकाल पनि भेटिए,’ बरालले भने, ‘समयमै खोजबिन नगरेको भए सबै अंग पचेको अवस्थामा कुनै बेला भेटिन्थे होला अनि के–केसरी मर्‍यो, खाग थियो कि थिएन खुल्दैनथ्यो । तस्करहरू हरसमय मौकाको प्रतीक्षामा हुन्छन् । लकडाउनले उनीहरूलाई सजिलो भयो होला । भदौमा वर्षा धेरै भएर पोस्टबाट सुरक्षाकर्मीहरू नदीवारि आएका बेलामा तस्करहरूले मौका छोपेको देखिन्छ ।’

गैंडा मारेको अपराधमा पक्राउ परेका धेरै व्यक्ति अहिले धमाधम छुटेका छन् । उनीहरू सजाय पूरा गरेर छुटेका हुन् । वैशाखयता मात्रै त्यस्ता ३० जना छुटेको उनले जानकारी दिए ।

चितवनमा २०५८ मंसिरपछि गैंडा चोरीसिकार निकै मौलायो । त्यो बेला वर्षमा ३८ वटासम्म गैंडा चोरीसिकारीहरूले मारे । ती घटनामा संलग्न २०६० पछि धमाधम समातिए । गैंडा मारे वा यसको अंगको कारोबार गरे १५ वर्ष कैदका साथै १० लाख रुपैयाँसम्म जरिवाना हुन्छ । त्यो बेला समातिएकाहरू अहिले सजाय पूरा गरेर छुटेका छन् । तीमध्ये केही फेरि सिकारमा लागे कि भन्ने शंका निकुञ्जलाई छ तर भरपर्दो प्रमाण र आधार नजुटेको बराल बताउँछन् ।

चितवन निकुञ्जमा लामो समय बिताएका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादव मरेको भेटिएका गैंडाको विवरण सुन्दा पुरानै समूहले काम गरेको झैं लागेको बताउँछन् । ‘सुरक्षाकर्मी परिचालन गर्नुपर्‍यो । सुराकी संयन्त्रको राम्रो उपयोग गर्नुपर्‍यो । समुदायको साथ लिनुपर्‍यो । सिकार नियन्त्रण हुन्छ,’ यादवको सुझाव छ ।

के गर्दै छ मन्त्रालय ?

चितवन राष्ट्रिय निकुञ्जमा यो वर्ष एकसिंगे गैंडा मर्ने क्रम बढेपछि वन तथा वातावरण मन्त्रालयले समाधानका उपाय खोज्न विशेषज्ञसहित सरोकारवालासँग छलफल थालेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म मरेकामध्ये धेरैजसो गैंडा बाढीले बगाएको र कुहिएको अवस्थामा भेटिएका छन् । पर्यटकको मुख्य आकर्षण मानिएका गैंडा भटाभट मर्न थालेपछि चितवनका पर्यटन व्यवसायी र संरक्षणकर्मी चिन्तित छन् । जंगल सफारीका लागि चितवन विश्वमै प्रख्यात मानिन्छ । विश्वमा भारतको काजिरंगा राष्ट्रिय निकुञ्जपछि चितवनमा सबैभन्दा बढी एकसिंगे गैंडा छन् ।

विभागका महानिर्देशक प्रेमनारायण कँडेलले गैंडा संरक्षणमा देखिएका विद्यमान समस्या समाधानको बाटो र सुरक्षा व्यवस्थालाई चुस्त बनाउने उपायबारे विज्ञ र सरोकारवालासँग छलफल गरिएको बताए । ‘निकुञ्ज र विभाग एक्लैको प्रयासबाट अहिलेको समस्या समाधान हुने देखिन्न,’ कँडेलले बिहीबार कान्तिपुरसँग भने, ‘अहिले देखिएको समस्या सम्बोधन गर्न नेपाली सेना, स्थानीय सरोकारवालासहित सबैको साथ र सहयोग आवश्यक छ ।’

उनका अनुसार चोरीसिकार बढेपछि निकुञ्जभित्र सेना र निकुञ्ज कर्मचारीको गस्ती बढाइएको छ । ‘तस्करहरूको सम्भावित चलखेल हुने सबै स्थानमा सुरक्षा व्यवस्था कडा पार्न भनिएको छ,’ उनले भने । गैंडा, बाघलगायत वन्यजन्तुको संरक्षणका लागि नेपाली सेनाको एक गण र निकुञ्जका ३ सय ६९ कर्मचारी कार्यरत छन् ।

गत असोजमा चितवन निकुञ्जका विभिन्न स्थानमा दिनहुँजसो मरेका गैंडा भेटिन थालेपछि महानिर्देशक कँडेलले स्थलगत अध्ययनसमेत गरेका थिए । उनले यस्तो समस्या उत्पन्न हुनुको कारणबारे अध्ययन गर्नसमेत निकुञ्जलाई सुझाएका थिए ।

त्यसअनुसार निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले गैंडाको अध्ययन गर्न सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा जैविक विविधता संरक्षण केन्द्रका प्रमुखसमेत रहेका वन्यजन्तुविज्ञ बाबुराम लामिछाने र पशुु चिकित्सक अमिर सडौला रहेको समिति बनाएका थिए ।

बरालका अनुसार उक्त समितिले खासगरी गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारणबारे सूक्ष्म ढंगले अध्ययन गरेको छ । ‘गैंडाको बासस्थल र आहारामा केन्द्रित भएर काम गर्नुपर्ने उहाँहरूको सुझाव छ,’ बरालले भने, ‘विस्तृत प्रतिवेदन आएपछि त्यसैअनुसार काम गर्ने रणनीति निकुञ्जले बनाएको छ ।’ समितिले हाल सौराहामा बसेर प्रतिवेदन लेखिरहेको छ ।

यसैबीचमा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले समेत चितवन निकुञ्जमा गैंडाको अवस्थाबारे स्थलगत अध्ययन गरेका थिए । गैंडा संरक्षणमा चुनौती देखिएपछि मन्त्रालयले पहलकदमी थालेका हो । विभागका सूचना अधिकारी हरिभद्र आचार्यले चितवन निकुञ्जमा गैंडाको चोरीसिकार नियन्त्रणको उपायबारे सुरक्षा निकायहरूसँग पनि छलफल गरिएको बताए । ‘गैंडा कसरी जोगाउने भन्ने मुख्य मुद्दा हो,’ आचार्यले भने, ‘फेरि अप्ठ्यारो अवस्था सिर्जना भएको छ, यससँग ट्याकल (प्रतिकार गर्नु/भिड्नु) गर्नुपर्ने बेला आएको छ ।’

केही वर्षयताको तथ्यांक हेर्ने हो भने प्राकृतिक मृत्युको दर पनि उकालो लागिरहेको छ । विशेषज्ञहरू त्यसो हुनुमा संरक्षण प्रणालीमै समस्या रहेको औंल्याउँछन् । सोसाइटी फर कन्जरभेसन बायोलोजी नेपालसँग आबद्ध विज्ञ प्रकाशकुमार पौडेल विज्ञानमा आधारित संरक्षण हुन नसकेकाले विभिन्न खाले समस्या निम्तिएको तर्क गर्छन् । ‘अधिक संख्यामा गैंडा मरेकाले प्राकृतिक मृत्यु हो भनेर ढुक्क हुने अवस्था छैन,’ उनले भने, ‘हाम्रो संरक्षणको दृष्टिकोण उत्तरदायी हुनुपर्‍यो ।’

विभिन्न प्रकोप, जलवायु परिवर्तन, आहारा र बासस्थानमा देखिएको समस्या सम्बोधन गर्न योजनाबद्ध हिसाबले अघि नबढ्ने हो भने गैंडालाई आगामी दिनमा थप चुनौती हुने उनको विश्लेषण छ ।

यसैबीच, विभागले चालु आवमा चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा गैंडा गणना गर्ने योजना बनाएको छ । गत वर्ष सबै तयारी भए पनि कोरोना महामारीका कारण गणना रद्द गरिएको थियो । विभागका सूचना अधिकारी आचार्यले बजेटलगायत अन्य प्राविधिक हिसाबले गणनाका लागि विभाग तयार अवस्थामा रहेको बताए । पाँच वर्षअघिको गणनाअनुसार देशका चारवटा निकुञ्जमा गैंडाको संख्या ६ सय ४५ थियो । नेपाल र भारतका सीमित संरक्षित क्षेत्रमा मात्रै यो गैंडा पाइन्छ । दुवै देशमा गरेर ३५ सयको हाराहारीमा मात्रै एकसिंगे गैंडा छन् । सबैभन्दा धेरै चितवन र यस आसपासको जंगलमा ६ सय ५ वटा गैंडा छन् ।

-कान्तिपुर दैनिक

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial