कञ्चनपुरमा पहिलोपटक गोप्रो क्यामेरा


 

कञ्चनपुर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा ६ वटा क्यामेरा प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

‘सवारीसाधन जाँचका क्रममा कुनै खाले विवाद सिर्जना भइहाले पनि यसले प्रमाण राख्न पनि सहज हुन्छ,’ उनले भने, ‘प्रहरीको प्रविधिमाथि पनि पहुँच बढिरहेको छ ।’

उनले शुरुमा महेन्द्रनगर र आसपासका क्षेत्रमा थालिएको उक्त गोप्रो क्यामेराको प्रयोग जिल्लाभरका युनिटसम्म पु¥याउने योजना रहेको बताए ।

क्यामेरा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० मुकुन्द मरासिनीको पहलमा खरिद गरी कार्यक्षेत्रमा खटिने प्रहरीलाई प्रयोगका लागि दिइएको हो ।

‘हरेक दिनको भिडियोसहितको रेकर्ड जिल्लामा राख्ने काम पनि हुन्छ,’ प्रवक्ता थापाले भने, ‘ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि सबैले सचेत हुन जरुरी छ ।’

उनले क्यामेराको प्रयोगले खटिने प्रहरी कर्मचारीकोसमेत गतिविधिमाथि निगरानी हुने बताए । सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ ।

‘सवारी जाँचका क्रममा प्रहरीबाटै दर्व्यवहार भएका गुनासा पनि आउँछन्’, उनले भने, ‘अब यथार्थ थाहा पाउन पनि सहज हुन्छ ।’

प्रहरी र ट्राफिक प्रहरीले दुई दिनदेखि उक्त क्यामेराको प्रयोगसहित बजार र आसपासका क्षेत्रमा सवारी जाँच सक्रिय बनाएको छ । दुई दिनमा ५८ सवारी साधनमाथि कारवाही गरिएको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार