स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा


सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो सीमित अवसर पनि कर्णालीका बालबालिकाले भने पाएका छैनन् । यो अवधिमा अनलाइन कक्षामा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरका केही प्रतिशत बालबालिका सहभागी भए तर अधिकांश बालबालिका यो वैकल्पिक शिक्षण सिकाइबाट वञ्चित नै छन् ।

खासगरी अनलाइन कक्षाले पनि बालबालिकाको पठनपाठनमा विभेद् जन्माएको छ । शहर बजारमा बस्ने बालबालिकाले इन्टरनेटबाट कक्षा लिइरहँदा यहाँका बहुसङ्ख्यक बालबालिका भने सूचना र प्रविधिबाट वञ्चित नै छन् । यहाँका अधिकांश बालबालिका आधुनिक प्रविधिको पहुँचमा नै छैनन् । अनलाइन कक्षामार्फत् आफ्नै सहपाठीहरुले अध्ययन गरिरहँदा प्रविधिको पहुँचविहीन हिमाली जिल्लाका बालबालिका शून्य पठनपाठनमा छन् । यसरी यो महामारीले एउटै कक्षाको सहपाठी ल्यापटपबाट अनलाइन कक्षा लिएको छ भने त्यही कक्षाको अर्को सहपाठी भने गोठाला जानुपर्ने बाध्यता उत्पन्न गराइदिएको छ । यसले एउटै कक्षाको परीक्षा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि सिर्जना भएको श्री संस्कृत तथा साधारण मावि सुर्खेतका प्रधानाध्यापक यामलाल घिमिरे बताउछन् ।

“समान परीक्षाले बढीजसो बालबालिका मर्कामा छन् । यसका लागि पढाइ छुटेकालाई विशेष अभिमुखीकरण गर्छौँ,” प्रधानाध्यापक घिमिरेले भने, “हाम्रै विद्यालयमा अनलाइन कक्षामा २५–३० प्रतिशत बालबालिका पहुँचमा रहे भने बाँकी बालबालिकाले भने पूरै आठ महिनादेखि पढ्न पाएका छैनन् ।”समान परीक्षाले वैकल्पिक शिक्षण सिकाइ प्राप्त गरेका परिवारका बालबालिकालाई हित गरेपनि पढ्नै नपाएका बालबालिकालाई अन्याय भएको उनको भनाइ छ । यसको प्रमुख कारण कोरोनाको डरलाग्दो असर त छँदैछ, कर्णालीलगायत मुलुकका सबै ठाउँमा सञ्चारको समान विकास नहुनु पनि हो । त्यसमा समाजको अशिक्षा र आर्थिक असमानता पनि कारक बन्न पुगेका छन् ।

अर्को मूल कारण साविकको कर्णाली अहिलेसम्म राष्ट्रिय प्रसारण लाइन नेशनल ग्रीडमा नजोडिनु पनि हो । यहाँका सबै जिल्ला जोडिने गरी न सडक पूर्वाधार जोडिएको छ नत राष्ट्रिय प्रसारणलाइन नै । मूलतः यी दुवै पूर्वाधारहरुको अपेक्षित विकास हुन नसक्नु नै प्रविधियुक्त शिक्षा र स्वास्थ्य सेवा प्राप्तिको बाधक हो भन्ने बुझाइ यहाँका नागरिकहरुको छ । भौगोलिक विकटता, सडक तथा सञ्चार असुविधाले होला नेपाल सरकारको वैकल्पिक शिक्षण सिकाइसमेत हिमाली क्षेत्रका बालबालिकाको पहुँचमा हुन सकेन ।

यो विधि कार्यान्वयनमा आउन नसक्दा यसको अधिकतम् मारमा हुम्ला, डोल्पा, मुगु, जुम्ला, जाजरकोट, दैलेखका बालबालिका बढी मात्रामा परेका छन् । शहरको गुणस्तरीय शिक्षा लिने रहर बोकेर आधारभूत, मावि हुँदै उच्च शिक्षाका लागि सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा, काठमाडौँ, धरानलगायतका सुविधायुक्त ठाउँबाट यता घर फर्केका धेरैले किताबसँग भेट नगरेको धेरै भएको छ । यही अवस्थालाई मध्यनजर गरेर यहाँका केही स्थानीय तहहरुले विद्यालय खोल्ने निर्णय गरेका छन् । चन्दननाथ नगरपालिकाले यही मङ्सिर ३ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको छ । बालबालिका जुन स्थानमा छन्, त्यही स्थानबाट पढ्न पाउन् र भौतिक दूरी कायम गरेर पठनपाठन सूचारु गराउने हेतुले विद्यालय खोल्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जानकारी दिईन्।

“हामीले नगरपालिकाभित्रका १९ सामुदायिक र छ निजी विद्यालय सञ्चालन गर्ने भनेर भदौ २२ गते नै निर्णय गरेका थियौँ,” नगरप्रमुख सेजुवालले भनिन्, “स्थानीय प्रशासनले बन्द गर्ने निर्देशन दिएपछि विद्यालय सञ्चालनमा आउन सकेनन् ।” चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले सोही बमोजिम नै सञ्चालन गर्न भनेर सबै विद्यालयहरुलाई परिपत्र गरिएको बताए ।“चन्दननाथ नगरपालिकामा सामुदायिक सरकारी तथा निजी विद्यालयमा पढ्ने बालबालिकाको सङ्ख्या पाँच हजार १०० रहेको छ,” प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले भने, “नगरपालिकाको शिक्षा समितिको निर्णयअनुसार स्वास्थ्यका मापदण्डहरु अपनाएर पठनपाठन गर्न सबै विद्यालयलाई पत्रमै उल्लेख गरेर पठाएका छौँ ।”

तिला गाउँपालिकाले भने यही कात्तिक २३ गतेबाट विद्यालय सञ्चालन गरिसकेको छ । यतिबेला यहाँका स्थानीय तहरुले शैक्षिक संस्था धमाधम खुल्न थालेका छन् । हुम्ला, डोल्पाका शैक्षिक संस्था पनि खोलिएका छन् । भौगोलिक विकटता, सञ्चार असुविधाले वैकल्पिक शिक्षण सिकाइको पहुँचमासमेत नरहेका दुर्गमका बालबालिका हिमाली जिल्लाको शैक्षिक सत्रको अन्तमा भए पनि पढ्न पाउँदा खुशी भएका छन् । फागुनबाट शैक्षिक सत्र शुरु गरी मङ्सिरको अन्तिम सातामा परीक्षा दिएर शैक्षिक सत्र सम्पन्न गर्ने साविक कर्णालीलगायतका हिमाली जिल्लाहरु यो सत्रमा अन्तमा भए पनि कक्षा शुरु गर्न थालेका छन् । तिला गाउँपालिका यही कात्तिक २३ गतेबाट यहाँ रहेका २७ सामुदायिक र एक निजी विद्यालयको पठनपाठन सञ्चालनमा ल्याएको छ ।

विद्यालय सञ्चालनमा ल्याउँदा यहाँका करिब पाँच हजार बालबालिका शैक्षिक क्रियाकलापमा जोडिएको तिला गाउपालिकाका शिक्षा शाखाका सह–संयोजक दीपेन्द्र हमालले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार