सामुदायिक वन अध्ययन केन्द्रको प्रशासनिक भवन शिलान्यास


चौतरा । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपालका वनलाई समुदायबाट संरक्षण गरेर मात्र नपुग्ने भएकाले यसलाई अब उद्योगकै रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ ठोकर्पामा निर्माण गरिने सामुदायिक वन अध्ययन केन्द्रको प्रशासनिक भवनको शिलान्यास गर्दै उनले उक्त अध्ययन केन्द्रलाई आवश्यक परेमा अन्तराष्ट्रिय सहयोगका लागि पनि पहल गर्नुपर्नेमा जोड दिएका छन ।

सामुदायिक वनको उद्गमस्थलका रूपमा रहेको सिन्धुपाल्चोकको ठोकर्पाको वन विश्वकै पहिलो अवधारणाको रूपमा रहेको छ । समाजसेवी एवं अभियन्ता दिवंगत नीलप्रसाद भण्डारीको सक्रियतामा २०३० सालमा नाङ्गो पाखामा वृक्षरोपण गरी समुदायबाटै संरक्षणको सुरुआत भएको थियो ।

नेपाल सरकारले २०७३ साउन २५ गतेदेखि प्रत्येक वर्ष सामुदायिक वन राष्ट्रिय महोत्सवको रूपमा मनाउने निर्णय गरी उक्त वन संरक्षणका संस्थापकलाई सम्मान गर्ने निर्णय गरेको थियो । उक्त केन्द्रका लागि रु ३९ करोड ७० लाख बजेट लगानी हुने गरी विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

संरचना निर्माणका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुँदै आएको र चालु आर्थिक वर्षमा पनि रु एक करोड ८८ लाख ७७ हजार पाँच सय निकासा भएको छ । दुई हेक्टर जमिनमा निर्माण गरिने केन्द्रमा प्रशासनिक भवन, सभा भवन, पुस्तकालय, चमेनागृह, छात्रावास, कर्मचारी आवासगृह, तालिम भवन, भण्डार गृह तथा पार्किङस्थल सहित १५ भवन निर्माण गरिनेछ ।

केन्द्रमा अन्तर्राष्ट्रियस्तरका अध्ययनकर्ता, विश्वविद्यालय तथा महाविद्यालयका विद्यार्थी, वैज्ञानिक र अवलोकनकर्ता सबैका लागि सुविधा उपलब्ध हुनेछ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial