नेकपा सचिवालय बैठक बिहीबार बस्ने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाउन प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि बैठक बोलाउने तयारी गरेका छन् । बेलुकीसम्म ओली बैठकका लागि तयार नभएमा प्रचण्डले कार्यकारी अधिकारको प्रयोग गरेर बैठक बोलाउने एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।

नेकपा सचिवालयको औपचारिक बैठक बिहीबार बस्ने र उक्त बैठकमा सहभागी बन्न प्रचण्डले मंगलबार नै ओलीलाई आग्रह गरेका छन् । बालुवाटार पुगेर ओलीलाई बिहीबारको बैठकमा सहभागी हुनका लागि आग्रह गरे पनि उनी बैठक राख्न सहमत छैनन् । त्यसअघि आफू निकट नेताहरुको छलफलमा भने ओली बिहीबार बैठक राख्न सकरात्मक रहेका उनी निकट नेताहरुले दाबी गरेका थिए ।

प्रचण्डले बिहीबार बैठक राख्ने विषयमा अनौपचारिक छलफल गरिसकेका छन् । एक सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीज्यू फर्किएपछि सहमतिमै बैठक राख्नका लागि अन्तिम पहल हुन्छ । फेरि पनि प्रधानमन्त्री बैठकबाट भाग्ने अवस्था आयो भने भोलि प्रचण्ड कमरेडले बैठक बोलाउनु हुन्छ । बैठक अब निरन्तर सर्ने वा अनौपचारिकतामा सीमित हुने अवस्था छैन । ओली कमरेड सहभागी हुने अवस्थामा बालुवाटारमा र उहाँ नआउने अवस्थामा पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्छ ।’

प्रचण्डले बोलाएको बैठकमा ओली सहभागी होलान ?

ओली संखुवासभाबाट फर्किएपछि आज बेलुकी पार्टी महासचिव विष्णु पौडेलसहित आफू निकट नेताहरुसँग परामर्श गर्ने तयारी छ । ओलीले सहमतिमै बैठक बोलाउने वा प्रचण्डले बोलाएको बैठकको निर्णय सामना गर्ने भन्ने विषयमा ओली फर्किएपछिमात्रै टुंगो लाग्ने उनी निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

महासचिव पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवास नेम्बाङ र शंकर पोखरेललगायतका नेताहरुले सहमतिमै बैठक बोलाउनु पर्नेमा जोड दिएका छन् । तर, अन्य नेताहरुले भने प्रधानमन्त्री ओलीलाई बैठक पनि नबोलाउन र बैठकमा पनि नजान सुझाव दिएका स्रोतको दावी छ । केही नेताले भने अध्यादेश ल्याउने सुझाव पनि दिएका ती स्थायी कमिटी सदस्यको भनाइ छ ।

ओली इतरका एक स्थायी कमिटी सदस्यले भने ओलीमा दम्भ र अहंकारले गर्दा पार्टी संकटमा परेको बताएका छन् । उनी भन्छन्, ‘ओलीमा दम्भ, घमण्ड र अहंकार छ । उहाँ बैठकमा नआउन पनि सक्नुहुन्छ । अझै एक चरण उहाँले नेताहरुलाई धम्काउने काम गर्नु हुन्छ । त्यसपछि उहाँ पार्टी निर्णय मान्छु भन्दै सहमतिमा आउने सम्भावना छ । पार्टी विभाजनका लागि पनि उहाँले निरन्तर प्रयास गर्नु भएको छ ।’

प्रचण्डले अब बैठक रोक्दैनन् ?

प्रचण्डको अध्यक्षमा पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको सचिवालयको अनौपचारिक बैठकले ओलीलाई बिहीबारको बैठकमा सहभागिताका लागि आग्रह गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीको बैठक अनौपचारिकतामा सीमित गरिएको कुरालाई कमजोरी नठान्न चेतावनी दिएका थिए । उनले पार्टी एकता कामय गरेर विधि तथा पद्दती अनुसार चल्नका लागि ढिलाइ गरिएको प्रतिक्रिया दिएका थिए ।

पार्टीको स्थायी कमिटी बैठकले यसअघि पार्टीको बैठक बोलाउने, निर्णय गर्ने र कार्यान्वयन गर्ने तथा गराउने लगायतका निर्णय गरिसकेकाले अब प्रचण्डले त्यहीँ निर्णयका आधारमा बैठक बोलाउने तयारी गरेका हुन् । भोलि सचिवालय बैठक राख्ने अन्तिम तयारीमा प्रचण्ड जुटेका छन् । बिहीबारको बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने छ । ओली र उनी निकट नआए पनि अब औपचारिक निर्णय गरेर अगाडि बढ्ने प्रचण्ड-नेपाल समूहको तयारी छ ।

एक सचिवालय सदस्य भन्छन्, ‘ओलीजीलाई बैठकमा लागि आग्रह गरिएको हो । उहाँले बैठक माग गरिएको जस्तोगरी अपमान गर्नु भएको छ । अब उहाँ आए पनि नआए पनि पार्टी बैठक बस्छ । प्रचण्ड कमरेडमा त्यो अधिकार यसअघिको बैठकले नै प्रदान गरेको छ । हामीले त पूर्वएमालेमा हुँदा उहाँको कुरा राम्रोसँग बुझेका थियौँ, अहिले प्रचण्ड कमरेडले पनि बुझ्नु भयो । उहाँ नजिक हुने साथीहरुले पनि विवेक पुर्याउन सक्नु भएन । जे भन्नुहुन्छ प्रभूलाई जस्तै हस् हजुर भन्ने मात्रै भएर समस्या भयो ।’

पार्टीमा कस्तो अवस्थामा छन् दुबै समूह ?

पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् । ओली, प्रचण्ड र नेपाल समूहमध्ये दुई समूह एक ठाउँमा हुँदा अर्को समूह रक्षात्मक अवस्थामा पुग्छ । सचिवालयका ९ सदस्यमध्ये ओलीसँग आफू बाहेक ईश्वर पोखरेलले प्रष्ट साथ दिने अवस्था छैन । महासचिव पौडेलले अहिले ओलीलाई साथ दिए पनि अन्तिम अवस्था हेरेर परिवर्तन गर्न सक्ने नेताहरु बताउँछन् । त्यसो त अर्थमन्त्री बनाउने समयमा पनि ओलीले खराबमध्ये कम खराब भएकाले मन्त्री बनाएको आफू निकट नेताहरुसँग बताएका थिए ।

सचिवालय बैठकमा ओलीलाई साथ दिँदै आएका रामबहादुर थापा ‘बादल’ले भने अन्तिम अवस्थामा प्रचण्डलाई साथ दिनेछन् । प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिल्यै प्रचण्डलाई साथ दिँदै आएका छन् ।

पार्टीका नेताहरुलाई जानकारीसम्म नदिइकन राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग कूटनीतिक मर्यादाविपरित प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद फेरि एक पटक उत्कर्षमा छ । नागरिक खबरमा समाचार छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार