नेकपा बैठक अन्तत बस्दै, ठोस निर्णयको अपेक्षा


काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा असन्तुष्ट नेताहरुले सचिवालय बैठकका लागि गरेको अनुरोधमा अन्तत: प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएपछि आज (शुक्रबार) पार्टी कार्यालय बैठक बोलाइएको छ ।

यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको र प्रधानमन्त्री एकलौटी चलिरहेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुले सचिवालय बैठक जरुरी रहेको बताइरहँदा प्रधानमन्त्री ओलीले बैठक ‘जतिखेर पायो त्यतिखेर’ बस्न नसक्ने र निश्चित विधि एवं पद्दती हुने दाबी गर्दै बैठक बस्न आलटाल गरिरहनुभएको थियो ।

प्रधानमन्त्री बैठकका लागि तयार नहुने तथा अर्को पक्ष जसरी पनि सचिवालय बैठक बोलाउनु पर्ने र ओली नआएपनि बैठक बसेर निर्णय गरिछाड्ने अडानमा पुगेपछि नेकपा फुटको संघारमा पुगेको विश्लेषणलाई माथ खुवाउँदै नेताहरुबीचको रस्साकस्सी रोकिएर बैठकमा परिणत हुन पुगेको छ । पार्टीमा संवेदनशील अवस्था उत्पन्न हुँदै गर्दा स्पष्ट दुई धुर्वमा विभक्त बनेका नेकपाका नेता/कार्यकर्ता पनि कतै पार्टी विभाजन त हुँदैन भनेर चिन्तित थिए ।

यसबीचमा केही नेताहरुबीच आरोप/प्रत्यारोप पनि चल्यो । प्रधानमन्त्री स्वंयले पनि अन्य नेताहरुको मानमर्दन हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको अर्का अध्यक्ष प्रचण्डले आरोप पनि लगाउनुभयो । जे होस्, अन्तत: बहुसंख्यक नेता/कार्यकर्ताको चाहना बमोजिम पार्टी बैठक आह्वान गरिँदा नेकपा वृत्तमा सकारात्मक सन्देश जागृत भएको छ ।

एजेण्डा के होलान् ?
नेताहरुले आजको बैठकका लागि जस्तासुकै एजेण्डा सुत्रबद्ध गरे पनि नेकपाभित्रको विवादको विषय आम सर्वसाधारणलाई समेत थाह भइसकेको छ । मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई निम्तो, पर्सा घटना र केही सरकारी नियूक्ती लगायतमा नेताहरुबीचको गम्भीर मतभेद लुकेको छैन ।

यो पटकको बैठक खासगरी कार्यकारी अध्यक्ष प्रचण्डलगायतका प्रधानमन्त्रीको कार्यशैलीमा असन्तुष्ट नेताहरुको विशेष जोडमा बस्ने भएकाले उनीहरुले नै बढी विषय राख्ने र प्रधानमन्त्रीले पनि पार्टीकै नेताहरुले सरकारको आलोचना गर्ने गरेको विषय उठाउने सम्भावना छ ।
आफूसँगको संवादमा ओलीले पार्टी विभाजनको प्रस्ताव राखेको भन्दै प्रचण्डले आफूपक्षीय नेताहरुलाई गरेको ब्रिफिङबारे पनि बैठकमा कुरा उठ्न सक्नेछ ।

एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा पार्टीमा विश्वासको वातावरण बनाउन ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद छोड्न अनुरोध गरिनेछ । त्यस्तै, यसअघि गरिएका सहमतिहरु कार्यान्वयन नहुनका कारणबारे पनि निर्मम समिक्षा गरिने उनको भनाइ छ । नेताहरु खासगरी भदौ २६ र असार १६ मा प्रधानमन्त्रीसँग गरिएको समझदारीसहित केही नयाँ विषय पनि उठाउने तयारीमा देखिन्छन् ।

उता प्रधानमन्त्री पक्षधर नेताहरु भने ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछोड्ने गरी सहमति निर्माण गरिनुपर्ने बताउँदै आएका छन् । उनीहरुले दुवै अध्यक्षले आआफ्नो जिम्मेवारी पूरा गर्दा नै समस्या समाधान हुने तर्क अघि सारिरहेका छन् ।

सहमतिको सम्भावना
भिन्नाभिन्नै अडानमा रहेका दुबै अध्यक्षको सहमतिमा सचिवालय बैठक बोलाइए पनि विभाजनको संघारमा पुगेको पार्टी विवाद समाधानका लागि कुन उपाय नेताहरुले अवलम्बन गर्लान भन्ने चाहिँ अनिश्चित छ ।

प्रचण्ड पक्षधर नेताहरुले प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्छ भनेर लिनसक्ने अडानलाई ओली पक्षले सहजै स्वीकार गर्ने सम्भावना देखिँदैन । तर बैठकमा प्रधानमन्त्रीले अघि सार्ने सहमतिको प्रस्ताव र प्रस्तुतिमै नेकपाको आगामी बाटो तय हुने प्रचण्ड पक्षधर नेताहरुको बुझाइ छ ।

जनतासमाचारसँग कुरा गर्नुहुँदै वरिष्ठ नेता झलनाथ खनालले ओलीसँग विगतमा जस्तो केवल सम्झौता मात्रै नगरिने र यो पटकको बैठकबाट कार्यकर्ताको भावना बमोजिम पार्टीलाई गतिशील बनाउन ठोस निर्णय लिइने बताउनुभयो । खनालले ठोस निर्णय गरिने बताउनु भएपनि नेकपामा सहमति हुने तर कार्यान्वयन नहुने परम्परा दोहोरिरहेकाले कार्यकर्ताले नेताहरुलाई विश्वास गरिहाल्ने अवस्था भने देखिँदैन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार