पीएसजी मोनाकोसँग स्तब्ध



प्रकाशित: मंसिर ६, शनिबार, एजेन्सी ।

केलियन एम्बाप्पेले २ गोल गरेको खेलमा फ्रेन्च लिग वानमा पीएसजी मोनाकोसँग स्तब्ध भएको छ ।

१० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे । पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरे पनि हार टार्न सकेनन् ।

मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पीएसजीले खेलको २५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अगता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा पनि एमबाप्पेले गोल गरे । तर, अफसाइडका कारण गोलले मान्यता पाएन । दुई गोलले पछि परेको मोनाकोले दोस्रो हाफमा खेल उल्ट्यायो ।

उसले ५२औं मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्किने संकेत दियो । ६५औं मिनेटमा भोलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो ।

८३औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटियो । एबोउ डिएलोले भोलान्डलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मोनाकोलाई पेनाल्टी प्रदान गरे । सोक्रममा भिएआरको सहायतामा डिएलोलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइयो ।

पेनाल्टीमा सेस फाब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ को जित निश्चित गरे ।

मोनाकोसँगको हारपछि पनि पीएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार