नेकपा नेता शर्माको रहस्यमय मौनता!


काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयन नहुँदा आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवादको दुई ध्रुवमा छन् । विवादलाई लिएर ओली र प्रचण्ड पक्षका नेताहरु आ–आफ्नै व्याख्या, विश्लेषण र तर्कमा रमाइरहेका छन् ।

पार्टीमा बढेको विवाद समाधान गर्न बहुमत नेताहरुले बैठकको माग गरिरहे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली बैठकको आवश्यकता, औचित्य र उपादेयता नभएको भन्दै बहुमत नेताहरुको मागअनुसार बैठक बोलाउने र समस्याको समाधान पनि बैठकबाटै खोज्न तयार भइसकेका छैनन् । त्यसैले पनि इतर पक्षले बैठकबाट ओली भाग्न खोजेको आरोप लगाइरहेको छ ।

पार्टीभित्र संकट बढेकै समयमा महासचिव विष्णु पौडेलसहितका स्थायी समिति सदस्य र केही केन्द्रीय सदस्यले पार्टी विभाजन रोक्न भन्दै बालुवाटार र खुमलटारको म्याराथन यात्रा जारी राखेका छन् । यो दौडमा नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायतका नेता सहभागी छन् । भीम रावल, सुरेन्द्र पाण्डे लगायतले पनि शीर्ष नेताहरुसँग भेटवार्ता र सक्रियता बढाएका छन् ।

 

महासचिव पौडेल यसअघि गठित नेकपा विवाद समस्या समाधान कार्यदलका संयोजक हुन् भने रावल, पाण्डे र पोखरेल सदस्य हुन् । उक्त कार्यदलले गत भदौमा समस्या पहिचान गर्दै १७ बुँदे सुझावसमेत पेश गरेको थियो । सोही सुझावलाई भदौ २६ गते बसेको स्थायी समिति बैठकले दुई अध्यक्षको कार्यविभाजनसहित पार्टी र सरकार सञ्चालनका आधारका रुपमा अनुमोदन गरेको थियो । उक्त निर्णयपछि केही दिन साम्य भएको नेकपाको विवाद असोज अन्तिम साताबाट पुनः छचल्किएको छ ।

अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बोलाउन गरेको समावेदनप्रति अध्यक्ष ओलीबाट बेवास्ता भएको दर्शाइरहेका छन् । यो बीचमा ओली पक्षले प्रचण्ड–माधव समूहलाई अनेकन किसिमले मनाउने प्रयास जारी राखेको छ । कार्तिक २२ गते दुई दिनभित्र बैठक बोलाउन ५ नेताले गरेको समावेदनलाई ओलीले बेवास्ता गरेपछि थप तीन दिनपछि कार्तिक २७ गते औपचारिक बैठक राख्ने निर्णय प्रचण्ड–नेपाल समूहले गरिसकेको छ । त्यसका लागि मंगलबार अध्यक्ष प्रचण्डले ओलीलाई भेटेपछि पार्टी कार्यालय धुम्वराहीमा अन्य ५ नेतासँग छलफलसमेत गरिसकेका छन् । कार्तिक २७ गते बस्ने सचिवालय बैठकका लागि ओली अझै सहमत भइसकेका छैनन् । जबकि जबरजस्ती बैठक राखे त्यो नै पार्टी फुटको बिन्दु हुने चेतावनी ओलीले दिइसकेका छन् ।

यसै मेसोमा पहिला समस्याको गाँठो फुकाउन गठित कार्यदललाई पुनः ब्युँताउने चर्चा पनि नेकपा बृत्तमा चलिरहेको छ । तर, पार्टी एकता प्रकृयामा महत्वपूर्ण भूमिका खेलेका तथा विगतमा यस्ता संकट समाधानमा प्रभावकारी भूमिका निर्वाह गरेका एकजना पात्र भने नेकपाको पछिल्लो विवादप्रति मौनजस्तै देखिएका छन् । ती पात्र अरु कोही नभएर नेकपा स्थायी समिति सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ हुन् ।

त्यसो त, पार्टी एकतापछि पनि पटक पटक अध्यक्ष ओली र प्रचण्डलाई अप्ठ्यारो परेका बेला सहयोगी भूमिका निर्वाह गरेका शर्मा पछिल्लो समय कोभिड–१९ बाट प्रभावित बनेका कारण पनि उनको सक्रियतामा केही कमी आएको उनी निकटस्थहरुको भनाइ छ । ‘उहाँ (शर्मा) भर्खरै कोभिड–१९ लाई जितेर घरमै आराम गरिरहनु भएको छ । घरमा बस्दा पुस्तकहरु अध्यनमै बढी समय बिताउनु भएको छ’, शर्माको परिवारका एक सदस्यको भनाइ छ ।
पार्टीभित्र यतिसारो उत्तरचढाव आउँदा मौन बस्ने स्वभावका नेता भने होइनन् शर्मा । ओली–प्रचण्डबीच आएको खटपटमा होस् वा पार्टी जीवनमै देखिएको असमञ्जसतामै किन नहोस्, सन्तुलनकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नेदेखि पार्टी विवाद समाधानमा पहल गर्न शर्मा अग्रसर हुँदै आएका थिए ।

 

शर्मा यसअघि पार्टीमा गठित कार्यदलमा समेत रहेर हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै समस्याको समाधान पहिचान गर्ने काममा अग्रसर बनेका थिए ।  सरकारका पछिल्ला काम कारवाहीप्रति शर्मा त्यति सन्तुष्ट नदेखिएको उनी निकट स्रोत बताउँछ । संघीय शासन व्यवस्थामा संविधानले दिएका तल्ला तहको अधिकारसमेत खुम्च्याउने प्रयास भएकाले संघीयता नै खतरामा पर्न लागेको हो कि भनेर शर्माले आफु निकटकासँग चिन्ता व्यक्त गर्ने गरेका छन् । शर्माका निकटस्थहरु भन्छन्, ‘संघीयतालाई कमजोर पार्ने, संविधानले दिएका अधिकार पनि प्रयोग गर्न नदिनेलगायतका गतिविधिले गर्दा उहाँ अलि चिन्तित देखिनुभएको छ ।’

फुट्न लागेको पार्टी जोड्न दिलो ज्यान दिएका शर्मालाई ओलीले कर्णाली प्रदेशमा गरेको हमला पनि पटक्कै चित्त बुझेको छैन । कर्णाली विवाद आउनुमा ओलीकै प्रत्यक्ष उक्साहट रहेको चर्चा भइरहेका बेला नेकपा कर्णाली प्रदेश इन्चार्जसमेत रहेका उनी ओलीले बोलाएको बैठकमासमेत सहभागी भएनन् । बैठकमा उनी उपस्थित नहुनु नै उनको असन्तुष्टिको सबैभन्दा ठुलो उदाहरणका रुपमा उनका निकटस्थहरुले प्रस्ट्याउने गरेका छन् ।
पार्टी विवाद बढेपछि यसै साता ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका थिए तर शर्मा त्यहाँ पनि गएनन् । शर्मासहित अर्का कार्यदल सदस्य पम्फा भुसाल समेत बालुवाटार नगएपछि कार्यदलका अन्य सदस्य बालुवाटार पुगेर पनि ओलीसँग छलफल नै नगरी फिर्ता भएका थिए । पार्टी संकटमा परेका बेला कार्यदलले समस्याको निकासका लागि त्यत्रो सुझाव दिए पनि त्यसको कार्यान्वयन गर्नुको साटो उल्टै भाँजो हाल्ने काम ओलीबाटै हुनु दुःखद् भएकाले त्यहाँ गएर बोल्नुको के अर्थ छ र ? भनेर शर्मा नगएको निकटस्थहरुको भनाइ छ ।

शर्मा निकट स्रोतका अनुसार पार्टीमा समस्या चर्काउने भन्दा पनि मिलाउनुपर्छ भन्ने मान्यता राख्ने शर्मा पछिल्लो समय ओली आफूले आफैलाई घेराबन्दीमा पारेको ठान्छन् ।
‘ओलीलाई पटक पटक साथ दिएकै हो । तर पुल हाल्यो, आफु तरेपछि भत्काइदिने प्रवृत्ति देखियो । यो प्रवृत्तिले गणतन्त्र र संघीयता नै धरापमा परेर देश नै अन्धकारमा जाने हो कि भनेर चिन्ता लाग्नु स्वाभाविक होे’, शर्माले आफु निकटहरुसँग भन्ने गरेका छन् ।
बाहिरी गतिविधिमा मात्रै होइन, सामाजिक सञ्जालमा समेत शर्माको उपस्थिति पछिल्लो समय न्युन देखिन्छ । उनले गत अक्टोवर २७ मा आफु कोभिड–१९ सँग लडिरहेको जानकारी दिएका थिए । त्यसयता उनले सामाजिक

सञ्जाल फेसबुकमा समेत पार्टी गतिविधि लगायत राष्ट्रिय राजनीतिबारे टिप्पणी गरेका छैनन् । बरु सञ्चारमाध्यममा आएका गृह जिल्लाका केही समाचारहरु भने उनले शेयर गरेका छन् । पार्टी एकता प्रकृयामा सुरुदेखि आजसम्म प्रत्येक क्राइसिसमा सकारात्मक रुपले निर्णायक भूमिका खेल्दै आएका शर्माले सोही भूमिकाका कारण आफूलाई एकीकृत पार्टीमा संयोजनकारी र सन्तुलनकारी छविका साथ प्रस्तुत गरेका थिए । पछिल्लो समय पार्टीमा बढेको संकटका बाबजुद उनी मौन बस्नुलाई कतिपयले ‘रहस्यमय’ मानेका छन् ।

लामो समय संगत गर्दै उनलाई नजिकबाट चिनेका नेकपा केन्द्रीय सदस्य हेमराज भण्डारीको बुझाइमा शर्माको मौनतामा केही खास कारण छन् । त्यसमध्ये प्रमुख कारण स्वास्थ्य नै हो । ‘एक त उहाँ बिरामी भएका कारण पनि मौनजस्तो देखिनुभएको हो’, भण्डारीले रातोपाटीसँग भने, ‘नेकपामा उहाँजस्ता संयोजनकारी र हस्तक्षेपकारी भूमिका खेल्ने नेताहरुको अभाव खट्किएको छ ।’

पार्टी एकता गर्दा शर्मा गृहमन्त्री थिए । त्यसबेलादेखि नै शर्माले पार्टी एकतामा जोखिम मोलेको भण्डारी बताउँछन् । ‘त्यसपछि ओलीजी र प्रचण्डकाबीचमा जे जति छलफल भए, ती सबैका ओलीका तर्फबाट विष्णु पौडेल र यताबाट जनार्दन शर्मा नै साक्षी थिए’, भण्डारी स्मरण गर्छन्, ‘दुई नेताबीच भएका गोप्य भनिएका सहमतिमा समेत उहाँहरु नै हुनुहुँदोरहेछ । त्यसपछि बनेका दुईवटा कार्यदलमा पनि शर्माले महत्वपूर्ण भूमिका निभाउनुभएको छ ।’

पार्टीमा संकट आएका बेला शर्माजस्ता नेताहरुले शीर्ष नेताहरुलाई अगाडि राखेर हस्तक्षेपकारी भूमिका खेल्न ढिला गर्न नहुने भण्डारीको सुझाव छ । ‘खासगरेर दुई जना अध्यक्षलाई अगाडि राखेर पार्टी एकता गर्दादेखि अस्ति कार्यदल बनेर स्थायी समितिले गरेका निर्णयहरुसम्म आइपुग्दा ती निर्णयहरु किन कार्यान्वयन भएनन् ? क–कसका कमजोरी भए भनेर हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ’, भण्डारी भन्छन् ।

त्यसका लागि प्रचण्ड या ओलीलाई सामुहिक या छुट्टाछुट्टै भेटेर भए पनि खुला कुराकानी गरेर पार्टीमा समेत ती विषय ल्याउनुपर्ने उनको भनाइ छ । ‘उहाँहरु दुईजना (ओली र प्रचण्ड)का बीचमा के छलफल हुन्छ, त्यो पनि थाहा नहुँदा नेता–कार्यकर्तामा अन्योल छ, हिजो भएका छलफल र सहमतिमा पनि उहाँहरु (शर्मा लगायत) साक्षी भएकाले ती विषय के के थिए र अहिले कसले तोड्न खोज्दैछ भनेर जान्न पाउनुपर्छ’, भण्डारीले भने । दुई अध्यक्षमा मात्रै सहमति सीमित हुँदा समस्या बल्झिरहनेतर्फ संकेत गर्दै उनले शर्मा लगायतका नेताहरुको हस्तक्षेपकारी भूमिका अहिले झन् बढी आवश्यक रहेको औँल्याए ।

‘कुनै पक्षमा लागेका वा कुनै पक्षको वकालत गर्ने मान्छेले भन्दा सन्तुलनमा बसेर संयोजनकारी भूमिका खेल्ने मान्छेले नै यस्तो अप्ठ्यारो परिस्थितिमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । त्यसकारण अहिलेको समस्यामा जनार्दन शर्माहरुको भूमिका अझ बढ्नुपर्छ भन्ने आम नेकपाका कार्यकर्ताको भावना छ,’ केन्द्रीय सदस्य भण्डारी भन्छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial