भाृजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘टेम्के भ्यू टावर’ को शिलान्यास गरेका छन् ।
तीन हजार १०० मिटर उचाइको सो डाँडामा प्रदेश सरकारको रु १३ करोड ६२ लाख ८१ हजार लागतमा दृश्यावलोकनस्तम्भ निर्माण गर्न लागिएको हो । टावर किराँतराईको सस्कृति झल्कने गरी चिण्डो आकारमा निर्माण हुनेछ जुन २० मिटर अग्लो रहने जनाइएको छ ।
टावरको पहिलो तलामा सङ्ग्रहालय रहने छ । कुन्सालिङ कन्स्ट्रक्शन भोजपुरले आगामी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ । कार्यक्रममा मुख्यमन्त्री राईले किराँतराईको संस्कृतिको उजागर गर्ने तवरबाट स्तम्भ निर्माण गरिने र यसले भोजपुरको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
मुख्यमन्त्री राईले सोमबार नै टेम्केमैयुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गरेका छन् । गाउँपालिका, प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरणको आर्थिक लगानीमा गाउँपालिकामा विद्युत् विस्तार गरिएको हो ।
विद्युत् विस्तारका लागि गाउँपालिकाको रु ६ करोड ६० लाख, प्राधिकरणको रु ६ करोड २० लाख र प्रदेश सरकारको ५० लाख लागतमा गाउँपालिकाभरि विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । भोजपुरमा हालसम्म ४८ प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको प्राधिकरण भोजपुरका प्रमुख रवीनबावु घिमिरे जानकारी दिए ।
गाउँपालिकाभर तीन हजार ७३८ घरपरिवार छन् । रासस
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :