तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माण सुरु


दमौली । तनहुँको दुई पालिका जोड्न बरखोलामा पक्की पुल निर्माण सुरु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ र भीमाद नगरपालिका–९ जोड्न बरखोलामा पक्की पुल निर्माण सुरु भएको हो । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रु तीन करोड ९८ लाख ६३ हजार दुई सय ७७ को लागतमा पक्की पुल निर्माण सुरु भएको हो । उक्त पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे ।

सो अवसरमा मन्त्री गुरुङले आवश्यक स्थानमा प्रदेश सरकारले पुल निर्माण गर्दै जाने बताए । सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षमा आवश्यक अन्य स्थानमा पनि पुल बन्ने बताउँदै मन्त्री गुरुङले सिचाइँका आयोजना, एक घर एक धारा खानेपानीको कार्यक्रम र प्रदेशका सबै घरधुरीमा बिजुली बत्ती पुर्‍याउने कार्यक्रम प्राथमिकता साथ अगाडि बढाएको जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पुलको काम समयमै सक्न निर्माण कम्पनीलाई आग्रह गरिन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसन गुरुङले जनताका समस्या तीन तहका सरकार मिलेर समाधान गर्ने बताए । भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले दुई स्थानीय तहलाई जोड्ने पुललाई मितेरी पुलको रुपमा विकास गर्नुपर्ने बताए ।

मुक्तिनाथ दिपज्योति ज्वाइन्ट भेञ्चर पोखराले पुल निर्माणको ठेक्का पाएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाका अनुसार पुल ३२.४ मिटर लामो हुनेछ । विसं २०७८ असार २२ गतेसम्म पुल निर्माण सम्पन्न हुनेछ ।

नदीले वर्षामा अत्याधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न एक हजार तीन सय घनमिटर ग्याबिन भरिने उनले जानकारी दिए । दुई पालिका जोड्ने पक्की पुल निर्माण सुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् ।

वर्षाको बेला बालबालिका विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्दा समस्या हुने गरेको थियो । पुल बनेपछि अब राहत मिल्ने स्थानीय बुजोसत्त महतले बताए। “खोला तर्नलाई बनाएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिने गरेको छ,” उनले भने, “खोला उर्लिदा सवारीसाधन चल्दैन । चर्को घाम लागेपछि उर्लिएको खहरे खोला सुक्ला र खेतबारीको काममा जाउला भन्दैमा दिन बित्छ ।”

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial