"कोरोना भाइरस, नेपाल सरकार र नेपाली जनता"



प्रकाशित : मंसिर १६, मङ्गलबार, विराटनगर ।

मृत्यु निश्चित छ जन्मिए पछि आवश्य मरिन्छ तर मलाई कोरोना लाग्छ्की त्यसैले मर्छुकी भनेर लाग्दै नलागी आफ्नो कर्तव्य छाडेर बस्दैमा अमर बन्न सकिदैन । आज कोरोनासँग जोगिन सफल भए पनि भोलि अर्को रोगले मर्नै पर्छ। रोग र मृत्युसँग भाग्ने होइन सजग हुने हो, सुरक्षा अपनाएर आफ्नो कर्तव्य गर्ने हो । 

आज रोगसँग भागेर भोलि भोकले मरिने पो हो कि ? यो चै किन सोच्दैन हाम्रो मगजले ? के कोरोना लाग्दैमा मृत्यु निश्चित छ र ? हैन भने किन यत्रो रडाको ? के अन्य कारणले चै मान्छे बिरामी हुँदैनन्, मर्दैनन् पनि ? कोरोना एउटा रोग हो यो रोगसँग भागेर होइन सजग भएर युद्ध गरौँ अवश्य जितिन्छ भन्ने सोच कहिले आउला बुज्रुकहरुमा। 


अबका अधिकांश मृतकमा कोरोना पोजेटिभ देखिन्छ यो निश्चित हो तर मृतक विशुद्ध कोरोनाले मरेको भने हुँदैन उसमा कोरोना देखियो तर मृत्युको कारण भने अर्को हुन सक्छ। कोरोनाको आगमन भन्दा अगाडि पनि कोही कसैको मृत्युको कारण सोधिन्थ्यो र जवाफमा आउँथे उहाँलाई दमको समस्या थियो, मुटुरोग पनि थियो, निमोनियाले पनि राम्रै सताको थियो, पछिल्लो चरणमा प्रेसरले पनि हान्यो त्यसैले यही रोगले लग्यो भन्न सकिन्न तर आज त मन्छे मर्‍यो कि कोरोनाले भनेर हल्ला पिटाउन साह्रै सजिलो भाको छ ! 

कसरी नहोस् पनि अज हाम्रो देश त देश विकासमा भन्दा भाषण गर्नमा अब्बल हुने नेता, आफ्नो काम गर्न भन्दा दाम खोज्न पल्केका कर्मचारी, गोदाममा माल राखेर सामान सटेज छ भनि डब्बल दाम लिन पल्केका व्यापरी र नभएको रोगलाई पनि छ भनेर उपचार गरे झै गरी पैसा असुल्न पल्केका डाक्टरहरु भएको देश हो त्यसैले यहाँ जे छ त्यै नभइ जे छैन त्यसको हल्लाको पछाडि लाग्नेको कुनै कमी छैन यहाँ, कागले कान लग्यो भन्दा कान छम्ने भन्दा काग खेद्नेको घुँइचो हुन्छ यहाँ । 

आज भोलि बुढेसकालले मान्छे मर्दैनन् यहाँ। ८० बर्षको हजुरबा हिजो कोरोनाले मर्नु भएछ, उहाँमा अन्य केही रोग थिएन रे कोरोना भन्ने रोग नआएको भए अरु ५०/६० वर्ष बाच्ने सम्भावना थियो उहाँको भन्ने हल्ला सम्म गाउँमा चल्न थालिसके। 

क्यानसर, अल्सर, टाइफाइड निमोनिया त कोरोनाको अगाडी रोग नै होइनन् जस्तो भाको छ समाजमा । कोरोना बाहेक अन्य कारणले त मान्छे मर्दैनथे भन्ने भ्रम पैदा भएको छ अहिलेका मानिसमा । पहिलेको घटना त सबैले बिर्सिए जस्तो छ, आँठे परेर गाँउ नै सोत्तर भएको र पखालाले परिवार नै सखाप पारेको । 

यही ज्यान हो एकै दिन ३ चोटी मलामी बनेर लाश बोकेर घाटमा पुग्ने तर त्यो कुरालाई अहिले कसैले पत्याउदैनन् किन कि आज त कोरोना छ कोरोना जत्तिको शक्तिशाली रोग अरु थिएनन् पनि र छैनन् पनि भन्ने छाप सबैमा बसेको छ, त्यसैले मृत्युको मुल कारण नै कोरोना हो कोरोना रहुन्जेल आफ्नो कर्म छाडेर बसौँ यही नै अमर बन्ने एक अचुक तरीका हो।

जय कोरोना भाइरस !
जय नेपाल सरकार !!
जय नेपाली जनता !!!

✍️ लेखक: मनिष पोखरेल
विराटनगर ३, पुष्पलाल चौक

*यस लेखमा व्यक्त गरिएका विचार लेखकका आफ्नै हुन् र यसले राष्ट्रिय टाइम्सको धारणा प्रतिबिम्बित गर्दैन*

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial