दाजुभाइको लोभलाग्दो कृषि कर्म


बागलुङ ।
जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश जान चाहन्थे ।

जिन्दगी सोचेझैँ कहाँ छ र ? जापानका लागि बन्नै लागेको काम अन्तिममा आएर बिग्रियो । काठमाडौं धाउँदाको सास्ती र खर्च उस्तै । पटकपटकको प्रयास बिफल भएपछि खत्री दाजुभाइले विदेशको मोह सधैँ लागि त्यागे ।

गाउँ फर्केपछि बिनाइलम बस्न मनले मानेन । दुई भाइ मिलेर नयाँ अठोट लिए–गाउँमै केही गर्ने, स्वरोजगार बन्ने । गलकोट नगरपालिका–१ दुदिलाभाटीका खत्री दाजुभाइको चिनारी अहिले सफल उद्यमीका रुपमा छ । ‘विदेशको रहर नभएको होइन, कोशिस पनि गरियो, उताको काम नभएपछि कृषितिर लाग्यौँ’, ३० वर्षीय ज्ञानले भने । जापानको चक्करमा पैसा पनि डुबेको उनले सुनाए । 

विदेशको जति कमाइ नभए पनि कृषि व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको ज्ञानले बताए । ‘खत्री कृषि तथा पशुपालन फार्म’ले उनिहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, इज्जत पनि दिलाएको छ । भाटी बजार नजिकै काउलेमा सञ्चालित फार्ममा झण्डै रु ३० लाख लगानी भएको ज्ञानका दाजु ३५ वर्षीय सम्मरले बताए ।

पच्चीस रोपनी क्षेत्रफलमा रहेको फार्ममा तरकारी खेती, कुखुरा र माछापालन गरिएको छ । फार्मको उत्पादनबाट मासिक रु डेढ लाख बढी कमाइ हुने गरेको सम्मरको भनाइ छ । फार्ममा लेयर्स जातका २५ सय कुखुरा छन् । कुखुराले दैनिक एक हजार अण्डा दिन्छन् । एउटा अण्डा फुटकर रु १५ र थोकमा रु साढे १२ मा बिक्री हुन्छ ।

यस्तै कमन, ग्राफ, राहु, असलालगायत माछापालन गरिएको छ । अहिले दश हजार माछाका भुरा पोखरीमा हुर्किरहका छन् । तरकारी बालीतर्फ मौसमअनुसारको खेती हुन्छ । तीन वटा पूर्ण बन्द प्लाष्टिक घर (टनेल) मा गोलभेँडा, बन्दा, काउली, सिमी, भेण्टा, साग, काँक्रालगायत उत्पादन हुने सम्मरले बताए ।

‘नर्सरी बनाएर प्याज, काउलीका बिरुवा पनि बेच्छौँ”, उनले भने, ‘उब्जाउ माटो र सिँचाइको पनि सुविधा भएकाले तरकारी राम्रो फल्छ ।’ फार्मको सबै उत्पादन गलकोटकै हटियालगायतका बजार क्षेत्रमा खपत हुन्छ । उत्पादन दिन सके बजारको कुनै अभाव छैन । तरकारी खेती थप विस्तार गर्ने योजनामा खत्री दाजुभाइ छन् ।

फार्मको जग्गा आफ्नै मामाको भएकाले नियमित भाडा तिर्नु पर्दैन । छेवैमा रहेको गौँदीखोलाबाट बाह्रैमास सिँचाइ पुग्छ । नजिकैबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग गएकाले उत्पादनलाई बजार पुर्‍याउन सहज छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial