काठमाडौं, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्ष ३१५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको छ ।
वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाण र मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित स्थायी समिती सदस्य लीलामणि पोखरेललगायतका नेता आयोग पुगेका हुन् । आधिकारिकताका लागि चाहिने सबै प्रमाणहरु पुर्याएर आफूहरु आयोगमा आएको नेता पोखरेलले जानकारी दिएका छन् ।
‘हामी वैधानिक हौं भन्ने सबै प्रमाण हामीसँग छ’, पोखरेलले भने, ‘केहीबेरमा दर्ता प्रक्रिया अगाडि बढ्छ ।’ आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सबैको विवरण, नागरिकतासहित सनाखत, हस्ताक्षर हुनुपर्ने व्यवस्था रहेको छ । आधिकारिकता प्रमाणित भएपछि निर्वाचन आयोगले यसअघि नै प्रयोग गर्दै आएको पार्टीको नाम, चुनाव चिह्न पनि बहुमत सदस्य भएको पक्षले दिनेछ ।
नेकपाको ४४६ केन्द्रीय सदस्यमध्ये ४४१ बहाल रहेको र त्यसमा पनि ३१५ केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड नेपाल समूहले दावी छ ।
सोमबार स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड–नेपालका पक्षमा रहेको जानकारी दिएका थिए ।
त्यस्तै सोमबार नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि पार्टी केन्द्रीय समितिमा हेरफेर गरेको जानकारी आयोगलाई दिएको थियो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा दलको मान्यता सम्बन्धी विवादको निरूपण निर्वाचन आयोगबाट हुने व्यवस्था गरिएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :